गोरखा– भुकम्पले भत्कि्एको घरमा बसिरहेका अपांग परिवारलाई घर बनाइदिने अभियानमा रहेका शहीद लखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठको सपना पूरा हुने भएको छ। समाजिक कार्य गर्दै आएका श्रेष्ठको पहलमा ९ लाख ६९ हजार ३ सय ८७ रूपैयाँ रकम जम्मा भएपछि उनको अभियान पूरा हुन लागेको हो।
तीन छोराछोरी नै अपांग भएका धनबहादुर श्रेष्ठको परिवार कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको थियो। भुकम्पले भत्किएको घरमा बसिरहेका उनीहरुलाई साँझ–बिहान के खाने भन्ने चिन्ताले पिरोलिरहन्छ। ज्यालामजदुरी गरेर गुजारा टार्दै आए पनि छोराछोरीको उचित रेखदेख, उपचार र बस्ने घरको व्यवस्था गर्न मुस्किल परेको धनबहादुर दम्पतीले अब बस्नका लागि भुकम्प प्रतिरोधी घर पाउने भएका हुन्।

वडाध्यक्ष श्रेष्ठले मकैपुर कोर्थेका धनबहादुर श्रेष्ठ र पोषकुमारी श्रेष्ठको घर निर्माणका लागि सहयोगार्थ उठेको एकमुष्ट रकम शनिबार उनकै घरमा गएर पत्रकार सम्मेलन गरी हस्तान्तरण गरेका छन्।
अपांगताका कारण ३० वर्षकी जेठी छोरी लीला, १९ वर्षकी शीला र १६ वर्षका छोरा राजीव श्रेष्ठ हिँडडुल गर्न र राम्रोसँग बोल्न सक्दैनन्।
वडाध्यक्ष श्रेष्ठका अनुसार अहिले घरको निर्माणका लागि जग खन्नेदेखि निर्माण सामग्री ढुवानी गर्नेसम्मका काम भएको बताए। श्रेष्ठले भने, ‘हामीले स्थानीय स्तरमा साथीहरूलाई घर बनाउन ठेक्का दिएका छौं।’

करिब १५ लाख रुपैयाँमा बन्ने भुकम्प प्रतिरोधी घर श्रेष्ठ परिवारलाई जेठको पहिलो हप्ताभित्र हस्तान्तरण गर्ने श्रेष्ठले बताए।
धनबहादुर श्रेष्ठको घर निर्माणका लागि शहीद लखन गाउँपालिका वडा न ८ का विष्णु श्रेष्ठ र अमृत श्रेष्ठको पहलमा मकाउमा रहेका युवाहरुले ३ लाखभन्दा बढी रकम संकलन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।