राजविराज- राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले अपमान सहेर बस्नुभन्दा सरकारबाट राजीनामा दिन समाजवादी पार्टीलाई सुझाव दिएका छन्।
छिन्नमस्ता गाउँपालिका-७ मा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतोले समाजवादीलाई यस्तो सुझाव दिएका हुन्।
‘अपमानित भएर बस्नुभन्दा राजीनामा दिएर वैकल्पिक शक्ति निर्माणमा लाग्नु उपयुक्त हो,’ संयोजक महतोले भने, 'अब पनि अपमान सहेर सरकारमै बसिरहनुभन्दा बाहिरिएर सशक्त वैकल्पिक शक्ति निर्माणका लागि जुट्नु बुद्धिमानी हुन्छ।’
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा रहेका वेला सल्लाह नै नगरी मन्त्रालय परिवर्तन गर्नुले समाजवादी पार्टीभित्रकै कतिपय नेताहरुले अपमानित महसुस गरेको र त्यस्ता धारणा सार्वजनिक भइरहेको उनको भनाई थियो। २ बूँदे समझदारी गरेर सरकारमा समावेश भएको समाजवादी पार्टीले हालसम्म त्यसको पालना गराउन नसकेको र सरकार पनि इमान्दार नदेखिएको महतोको भनाइ थियो।
मधेशी, आदिवासी, जनजातिका समस्या संविधान संशोधनबाट सम्बोधन नभएसम्म चुप लागेर नबस्ने अठोट आफूहरुले लिएको भन्दै यसका लागि सत्ताधारी नेपाल कम्यूनिस्ट पार्टी र प्रतिपक्षी कांग्रेसविरुद्धको वैकल्पिक शक्ति आवश्यक रहेका उनले उल्लेख गरेका थिए।
राजीनामा दिएर आए समाजवादी पार्टीसित एकता हुन सक्ने भन्दै उनले थपे, ‘राजपा वैकल्पिक शक्ति निर्माण गर्न लागेको छ। समाजवादीले सरकार छोडे एकताको वातावरण र वैकल्पिक शक्ति निर्माणको अभियानमा सहयोग पुग्छ।’
राजपा सरकारमा जाने हल्ला सत्ताधारी दलका मिडियाले चलाएको उनको आरोप छ। त्यस्ता असत्य कुराको पछि नलाग्न महतोले आग्रह गरे। ‘हामी सत्तामा जान होइन, कम्युनिस्ट सरकारलाई सत्ताच्यूत गर्न शक्ति सञ्चयमा लागेका छौं,’ संयोजक महतोले भने, ‘यसका लागि परिवर्तनकारी शक्ति सबै एकजुट भएर अघि बढ्नु पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।