काठमाडौं- समाचार लेखेको आधारमा पत्रकारहरु गिरफ्तारीमा पर्ने क्रम बढेको भन्दै नेपाल पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ।
आइतबार काठमाडौँमा पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कोणसभामा महासंघका महासचिव रमेश विष्टले चिन्ता व्यक्त गरेका हुन्।
'हत्या जस्तो जघन्य अपराधमा दोषी देखिएका व्यक्तिहरु कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण पाएर खुलेआम हिँडेको छन्,' उनले भने, '०५२ साल यता हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारले न्याय पाएका छैनन्।'
पछिल्लो समय पत्रकारहरुलाई गिरफ्तारी गर्ने, कुटपिट गर्ने, समाचार लेखेको आधारमा सांघातिक आक्रमण गर्ने, सुरक्षा निकाय समेत मुक दर्शक बन्ने कारणले दण्डहीनता बढेको महासचिव विष्टको भनाइ थियो।
पत्रकारहरु सामाजिक रुपमा असुरक्षित बन्ने तथा सरकार समेत विभिन्न विधेयक मार्फत समग्र पत्रकारितालाई अंकुश लगाउने, नियन्त्रण गर्ने योजनामा रहेको महासचिव विष्टको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।