रगतमा हुने तत्वहरुको काम फरक–फरक हुन्छ । रातो रक्तकोषले फोक्सोबाट अक्सिजनलाई शरीरका कोषहरुमा पु¥याउने र कोषबाट कार्बनडाइअक्साइड फिर्ता ल्याउने काम गर्छ । सेतो रक्तकोषले रोगसँग लड्ने र शरीरको प्रतिरक्षा गर्छ । यस्तै, प्लेटलेट्सले रक्तस्राव भएमा रगत जमाउन मद्दत गर्छ । रगत नभएमा मानव मस्तिष्क ४ मिनेटमा र मुटु ६ घण्टामा निस्क्रिय हुन्छ
रगतलाई विभिन्न समूहमा विभाजन गरिएको हुन्छ । मेडिकल अनुसन्धानले रगतलाई दुई आधारमा विभाजन गरेको छ । एउटा एबिओ र अर्को आरएच । एबिओमा चार वटा रक्त समूह हुन्छन्, ए, बि, ओ र एबी । र, आरएचमा पोजेटिभ र नेगेटिभ हुन्छ । यी चारै वटा समूहको पोजेटिभ र नेगेटिभ हुन्छ । यसरी हेर्दा, हामीले रगतलाई आठ वटा समूहमा विभाजित भएको पाउँछौं । हामी जति पनि व्यक्ति छौँ, यही आठ वटा समूहमा परेका हुन्छौँ ।
कसैले आफ्नो रगत समूह एबी पोजेटिभ भन्छ भने एबी भन्ने शब्दाबली एबिओ सिस्टमबाट आएको हो भने पोजेटिभ भन्ने शब्दाबली आरएच सिस्टमबाट आएको हो। त्यसैले बिरामीको रगत ए पोजेटिभ छ भने उनीहरुलाई ए पोजेटिभ रगत नै दिनुपर्छ ।
बिरामीलाई कुनै किसिमको खतरा नहोस्, रक्त प्रसारमा कुनै समस्या नआओस, त्यो रगतलाई राम्रोसँग शरीरले स्विकार गर्न सकोस् भनेर यसो गरिएको हो । त्यसैले समूहगत रुपमा रक्तदान र प्रसारको अवधारणा आएको हो ।
कुनै बिरामीलाई फरक समूहको रगत दान गरियो भने त्यो म्याच नभई रियाक्सन हुन सक्छ । उसको शरीरले रगत स्विकार गर्दैन र क्षति हुन सक्छ । हेमोग्लोविनहरु फुट्ने अवस्था आउन सक्छ । रगत म्याच नगरे हेमोलाइसिस भएर बिरामीलाई जन्डिस हुन सक्छ । कतिपय अवस्थामा एनाफिलाटिक स्ट्रोक भएर मानिसको ज्यानै जाने हुन सक्छ ।
हामीकहाँ ‘युनिभर्सल डोनर’ र ‘युनिभर्सल रिसिपिएन्ट’को अवधारणा पनि छ । त्यो अवधारणा अनुसार निश्चित समूहको रगत अरुलाई दिन मिल्छ भने निश्चत समूहकाले अरु कसैको पनि लिन मिल्छ । तर, रक्त प्रसारमा भने सकभर र जसरी पनि उही समूहको रगत उपयुक्त मानिन्छ । आकस्मिक र कठिन परिस्थितिमा मात्रै बिरामीको रगतको समूह नमिले युनिभर्सल डोनर र युनिभर्सल रिसिपिएन्टको सिद्धान्त लागू गरिन्छ । तर त्यसका लागि पनि चिकित्सकहरुको सिफारिस भने अनिवार्य छ । तर, अरु सामान्य अवस्थामा उही समूहकै रगत दान गर्ने गरिन्छ ।
हामीले रगत दिने बेलामा ‘क्रस म्याच’ गर्छौं । त्यो भनेको बिरामीको रगत र दाताले दिने रगतको नमूना म्याचिङ हो । परीक्षणकै क्रममा म्याच भएन भने रगत दिन मिन्दैन । किनभने भोलि बिरामीको शरीरमा पुगेपछि नकारात्मक प्रतिक्रिया हुन्छ र बिरामीको ज्यान पनि जान सक्छ । उही समूहलाई रगत दिँदा पनि हामीले क्रस म्याच गर्नैपर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।