काठमाडौं–सुन तस्करीको विवादमा एक युवकको अपहरणपछि हत्या भएको छ। तस्करी गरिएको ३३ केजी सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका ३३ वर्षीय सनम शाक्यको अपहरणपछि हत्या भएको खुलेको हो।
हत्यामा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्ले पक्राउ परेका हुन्।
उनीहरुले अपहरण गरी शाक्यलाई करेन्ट लगाएको र हत्यापछि चारकोशे झाडीमा गाड्ने प्रयास गरेको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए। घटनामा संलग्न तस्करका नाइकेहरुमाथि पनि अनुसन्धान सुरु भइसकेको उनले बताए।
डिएसपी प्रजित केसीका अनुसार अभियुक्तमध्येका मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको गाडीमा शाक्यको शव विराटनगरको पोखरीयामा भेटिएको हो। शुक्रबार राती उनीहरुले शव गाड्न लैजाने तयारी गरेका थिए। प्रहरीले पहिले नै सूचना पाएर शव बरामद गरेको हो।
सिराहको एकान्तस्थलमा लगेर बन्धक बनाई कुटपिटपछि उनको हत्या भएको प्रहरीले जनाएको छ। शव लुकाउन लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। घटनामा संलग्न केही फरार छन्।
हत्या गरिएका शाक्यलाई एक समूहले सुन तस्करीमा प्रयोग गरेको थियो। तर उनले ल्याएको सुन हराएको थियो। त्यसपछि सो समूहले विभिन्न व्यक्तिहरु प्रयोग गरी बन्धक बनाई करेन्ट लगाएर हत्या गरेका हुन्। पक्राउ परेका व्यक्तिहरु शव लुकाउने काममा मात्र संलग्न भएका व्यक्ति हुन्।
मुख्य नाइकेहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।