काठमाडाैं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले मेडिकल विद्यार्थीमाथि भएकाे आक्रमणप्रति ध्यानार्कषण गराएकाे छ। यूनियनले आइतबार विज्ञप्ति जारी गर्दै यूनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुमाथि गरिएको दमन, षड्यन्त्र र ज्यान मार्नेसम्मका धम्किहरुले थप आक्रोशित बनाएको जनाएकाे हाे।
यूनियनले शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीहरुलाई होस्टलमा बस्ने र जीवनको शुरक्षाको प्रबन्ध मिलाउन प्रशासनलाई सचेत गराएकाे छ। साथै सरकारले पछिल्लो पटक दिएको १५ दिनको समय सीमाभित्र शुल्क कार्यान्वयन र समायोजन गर्न मेडिकल कलेजहरुलाई आग्रह समेत गरेकाे छ।
निर्धारित समय भित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीहरुको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकहरुलाई गिरफ्तार गरी कारबाही अगाडी बढाउन सरकारलाई यूनियनले आग्रह गरेकाे छ।
कारबाही अगाडी नबढाइए अनेरास्ववियू कडा आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तीमा उल्लेख छ। अनेरास्ववियूले खबरदारी र दबाव बढाउन मेडिकल कलेजका विद्यार्थीहलाई अपिल गर्दै मेडिकल कलेज सञ्चालकहरुको षडयन्त्र र दमनका विरुद्ध आज दिउँसो १ बजे नेसनल मेडिकल कलेज अगाडि हुने वृहत विरोध प्रदर्शन कार्यक्रममा सहभागि हुन पनि विद्यार्थी साथीहरुलाई अपिल गरेकाे छ।
विज्ञप्तिमा भनिएकाे छ, 'निर्धारित समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीहरुको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकहरुलाई गिरफ्तार गरी कारबाही अगाडी बढाउन सरकारलाई आग्रह गर्दछाैं। अन्यथा अनेरास्ववियू कडा आन्दोलनमा उत्रन बाध्य हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।