काठमाडौं– सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सूचिकृत नाममाथि परेका उजुरीको अध्ययन गर्न आइतबार सिफारिस समितिको बैठक बस्ने भएको छ।
समितिले गत सोमबार दुई आयोगका अध्यक्ष तथा सदस्यहरूमा सिफारिस हुन इच्छाएका ६१ जनाको नाम सार्वजनिक गरेको थियो। सार्वजनिक भएका नामहरूको विषयमा उजुरी दिन दिएको पाँच दिनको समय शनिबार सकिएपछि समितिको बैठक आज बस्न लागेको हो।
सिफारिस समितिकी सदस्य शर्मिला कार्कीले सूचिकृत व्यक्तिहरूमाथि परेका उजुरीको अध्ययन गर्न दिउँसो १ बजे बैठक बस्न लागेको नेपाल लाइभलाई जानकारी दिइन्। ‘हामीले दिएको पाँच दिनको समय शनिबार सकिएको थियो,’ कार्कीले भनिन्, ‘हिजो विदा भएकाले आज बैठक बस्न लागेको हो। सूचिकृत नामबारे कस्ता उजुरी परेका छन्, तीनको आज अध्ययन हुन्छ।’
कार्कीले आजको बैठकमा उजुरीको अध्ययनमात्रै हुने भन्दै दुवै आयोगका पदाधिकारीको अन्तिम नाम सिफारिस गर्न भने अझैँ केही दिन लाग्ने बताइन्। सिफारिस समितिले व्यक्तिगत रुपमा फारम भरेका, संघसंस्थाको तर्फबाट प्रस्ताव गरेका र समिति स्वयंको तर्फबाट भन्दै ६१ जनाको रोष्टर सार्वजनिक गरेको थियाे।
केही नयाँ अनुहारबाहेक अधिकांश आयोगका पूर्वपदाधिकारीको नामसहितको सूची समितिले सार्वजनिक गरेको छ। नयाँ नाममा सत्य निरूपण तथा मेलमिला आयोगको अध्यक्षका लागि गणेशदत्त भट्ट छन्। उनी नेपाल ल क्याम्पसका सहप्राध्यापक हुन्।
द्वन्द्वकालीन आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा बैठक बोलाएका थिए। उक्त बैठकमा ओली, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरूपणमा भट्टको नाम सिफारिस समितिमा पठाने सहमति भएको थियो।
उनीहरूबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने सबै पुरानै पदाधिकारी दोहोर्याउने सहमति भएको थियो। गत चैत्रको दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त हुने पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय समिति बनाएको थियो।
समितिले लामो समयसम्म पनि नाम सिफारिस गर्न सकेन। समितिले समयमै नाम सिफारिस गर्न नसक्नुमा राजनीतिक दलको हस्तक्षेप कारक रहेको पीडितहरू ठान्छन्। आयोगमा पदाधिकारी छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप भएको भन्दै त्यसबाट बाहिरीन सिफारिस समितिमा निवदेनसमेत परेको छ।
सत्य निरूपण तथा मेलमिलाप आयोग सदस्यका लागि निवेदन दिएका अधिवक्ता आशिकराम कार्कीले राजनीतिक हस्तक्षेपका कारण छनोट प्रक्रिया निष्पक्ष नुहने भन्दै आफ्नो नाम सूचीबाट हटाउन मंगलबार निवदेन दिएका थिए। सिफारिस समितिले सोमबार सार्वजनिक गरेको सूचीमा कार्कीको नाम पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।