काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानीको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले यही विषयमा समान धारणा बनाउन बोलाएको सर्वपक्षीय बैठकमा सरकारले राख्ने विचारमा आफ्नो साथ रहने बचन देउवाले दिएका थिए। तर, शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीसँग भारतले सल्लाह गरेरै नयाँ राजनीतिक नक्सा बाहिर ल्याएको आरोप लगाए।
‘भारतले ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो,’ सभामा देउवाले भने, ‘त्यसै छापेको हो र? ओलीको सहमतिविना भारतले नक्सा छाप्नै सक्दैन।’ देउवाले प्रधानमन्त्री ओली राष्ट्रवादी नभएको पनि जिकिर गरे।
‘ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ,’ देउवाले भने, ‘ओली राष्ट्रवादी नै होइनन्।’ राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर चुनाव जितेको पनि देउवाको आरोप थियो।
देउवाको यस्तो टिप्पणीलाई धेरैले ‘अशोभनीय’ भएको बताएका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नरायणकाजी श्रेष्ठले देउवाको आरोपको खण्डन गरेका छन्। उनले देउवाको टिप्पणी निन्दा र भर्त्सना योग्य भएको बताए।
‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओली माथि आरोपित गर्दै पूर्व प्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘तात्कलीक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो संबेदनशील बिषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ।अझैँ चेतेनन्।’
कांग्रेसले भने देउवाको टिप्पणीबारे औपचारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन्।
यद्यपि, कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आफ्नै सभापति देउवाको टिप्पणीले आफू अचम्भित भएको बताएका छन्। अन्तराष्ट्रिय र कूटनीतिक मामिलामा सस्तो र हलुका टिप्पणी कुनै पनि दलको नेताले गर्न नहुने उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।