रोल्पा- मतदानको मिति नजिकिए पनि रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ को उपनिर्वाचनमा कुनै उत्साह देखिँदैन। मनोनयन दर्ताका दिन थबाङ बारिहबाट गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थितिले निर्वाचनको माहौल देखिए पनि उनीहरु त्यहाँबाट फर्किएपछि चुनावी वातावारण सुनसान देखिएको हो।
सो वडाको निर्वाचनका लागि नेपाली कांग्रेसले कलम रोकामगरलाई र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनक बुढामगरलाई उम्मेदवार बनाएको छ। वडा सदस्यबाट राजीनामा दिएर भद्रकुमार झाँक्रीले समेत वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारीका लागि मनोनयन दर्ता गराएका थिए। सर्वसम्मत अध्यक्ष चयन हुन नसकेको भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि चुनावी मैदानमा नेकपा र नेपाली कांग्रेसका उम्मेदवार मात्र देखिएका छन्।
रोल्पामा कम्युनिस्ट पार्टीको बिजारोपण गरेको थबाङले हरेक निर्वाचनमा फरक फरक पहिचान दिँदै आएको छ। देशमा हुने हरेक निर्वाचनमा थबाङ चर्चामा रहने गर्छ। २०३८ सालको पञ्चायती निर्वाचन पहिलो पटक बहिष्कार गरेको थबाङले २०४७ मा बहुदलपछिका निर्वाचनसमेत बहिष्कार गरेको थियो। खासगरी, २०५२ साल फाल्गुन १ गते तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा राज्यले गरेका सबै निर्वाचन बहिष्कार गरेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन संविधानसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाललाई सबै भोट दिएको थबाङले २०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा भने शून्य मतदान गरेको थियो। संविधानसभाबाट संविधान घोषणापछि भएको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा भने थबाङको मत विभाजित थियो।
साविक थबाङ गाविसलाई हालको थबाङ गाउँपालिकाको वडा नं. १ र २ विभाजन गरिएको छ। स्थानीय तह निर्वाचनमा वडा नं. १ वाट स्वतन्त्र उम्मेदवारी दिएर फर्कबहादुर बुढा निर्वाचित भएका थिए। वडा नं.२ मा भने तत्कालीन नेकपा माओवादी केन्द्रका बसन्त रोका विजयी भएका थिए। वडा नं. १ मा तत्कालीन माओवादी केन्द्र र वडा नं. २ मा स्वतन्त्र उम्मेदवार निकटतम प्रतिद्वन्दी थिए। वडा नं. १ का वडाध्यक्ष फर्कबहादुर बुढाको मृत्यु भएपछि रिक्त सो स्थानमा हुने निर्वाचनमा यस पटक भने दुई मुख्य संसद्वादी दलबीच नै प्रतिस्पर्धा हुने भएको छ। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने सो वडाको निर्वाचनलाई सुरक्षा दृष्टिकोणले अतिसंवेदनशील मानिएको छ।
वडा नै रिक्त
वडाध्यक्ष फर्कबहादुर बुढाको मृत्यु भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारीसहित वडा सदस्य भद्रकुमार झाँक्रीले काम गरे। लामो समय कार्यवाहक वडाध्यक्ष रहेका झाँक्री सर्वसम्मत वडाध्यक्ष हुन चाहन्थे। मनोनयन दर्ता गर्दा उनले वहालवाला पदबाट राजनीनामा दिई वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए। सत्ता निकट संचार माध्यमले उनलाई विप्लव नेकपाको उम्मेदवार भनेर प्रचारप्रसार गरे। विप्लवले समेत निर्वाचनमा भाग लिए भनेर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएको हल्लापछि उनले आफु कुनै दलविशेषको उम्मेदवार नभई स्वतन्त्र उम्मेदवार भएको स्पष्टीकरण दिए। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, थबाङले समेत प्रेस विज्ञप्तिमार्फत् आफ्नो पार्टीले निर्वाचनमा भाग लिएको भन्ने समाचारको खण्डन गरेको थियो।




स्वतन्त्र उम्मेदवारी दिएका झाँक्रीले आफू पार्टीको कार्यकर्ता नभएको तर प्रगतीशील सोच भएको व्यक्ति रहेको स्पष्टीकरणसहितको विज्ञप्ति प्रकाशित गरे। थबाङमा विप्लव नेकपाले समेत उम्मेदवारी दिएको भन्ने चर्चा चुलिएपछि कार्तिक २९ गते बेलुका सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा सहभागिता नजनाउन जनसमुदायलाई अपिल गर्दै विज्ञप्ति जारी गरे।
निर्वाचनको नाममा विभाजन ल्याउन नहुने भन्दै थबाङबासीले सर्वसम्मतिको लामो प्रयास गरे। सर्वसहमतिको प्रयास असफल भएपछि स्वतन्त्र उम्मेदवारी दिएका झाँक्रीले उम्मेदवारी फिर्ता लिए। 'सहमतिको अन्तिम प्रयास असफल भएपछि उम्मेदवारी फिर्ता लिएको हुँ,' झाँक्रीले भने, 'एकता थबाङको पहिचान भएकाले सोही पहिचान कायम गर्न सहमतिको प्रयास गरियो तर सफल नभएपछि चुनाव नलड्ने निर्णयमा पुगेँ।'
उनको उम्मेदवारी फिर्तासंगै सो वडाका सबै वडा सदस्यले राजीनामा दिएका छन्। राजीनामा दिने सदस्यहरुमा जीतकुमारी विक र रामपुरी विक रहेका छन्। सदस्य झाँक्रीको गत सोमबार राजीनामा स्वीकृत भइसकेको छ भने बाँकी २ सदस्यको भने हालसम्म स्वीकृत गरिएको छैन। अर्का वडा सदस्य लकअप बुढाले निर्वाचनपश्चात् सपथ ग्रहणसमेत नलिएर अनुपस्थित भएपछि गाउँकार्यपालिकाले निलम्बन गरिसकेको छ।
माहौल बनाउन दौडधुप
नेपाली कांग्रेसको कमजोर जनाधार भएको उक्त वडामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सहजै जित हासिल गर्ने अनुमान गरिए पनि ढुक्क हुन सक्ने अवस्था भने छैन। 'विप्लव नेकपा समर्थकको भोट कता जान्छ त्यसैको पक्षमा चुनावी नतिजा उतै जान्छ,' सत्तारुढ नेकपाका एक नेताले भने। विप्लव निकट मतदातालाई फकाएर विजयी हुने दाउमा नेपाली कांग्रेस छ। 'थबाङमा विजयी भए कांग्रेसका लागि ऐतिहासिक सफलता हुन्छ,' कांग्रेसका जिल्ला स्तरीय एक नेताले भने। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने उक्त निर्वाचनलाई सक्रिय बहिष्कार गर्न अपिल गरिसकेको छ।
यसैबीच रुकुम पूर्वको एक कार्यक्रममा निस्किएका प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले एक रात थबाङ बिताएका छन्। कार्यकर्ता भेटघाट भनिए पनि थबाङ भ्रमणको मुख्य उद्देश्य निर्वाचनको माहौल बनाउनु थियो। मुख्यमन्त्री सँगै प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी पनि थिए।
प्रदेशसभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढासहित सत्तारुढ नेकपाका नेता कार्यकर्ता र गाउँपालिकाका कर्मचारीबाहेक उक्त कार्यक्रममा स्थानीयको खासै उपस्थिति थिएन। कुनै ठूलो औपचारिक कार्यक्रम वा चुनावीसभा नगरेरै मुख्यमन्त्रीको टोली फर्किएको छ। १ हजार २ सय ८० मतदाता सो वडामा छन्। 'वडाको निर्वाचन प्रतिस्पर्धामा उत्रिएका नेकपा र नेपाली कांग्रेस दुवैले प्रचारप्रसार गरेको देखिँदैन,' स्थानीय अजय घर्तीले भने।
यता सत्तारुढ नेकपाले भने घरदैलो कार्यक्रम जारी राखेको बताएको छ। नेपाली कांग्रेस रोल्पाबाट उक्त निर्वाचनका लागि संयोजक तोकिएका जिल्ला कोषाध्यक्ष खटकबहादुर खत्री दुवै दलको प्रचारात्मक गतिविधि शून्यजस्तै रहेको स्वीकार्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।