काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंको भृकुटीमण्डपमा रंगभेद विरुद्धको एकता दिवस मनाएको छ।
र्याली र झाँकी प्रदर्शनपछि आयोजित आमसभालाई राउतले सम्बोधन गरेका थिए।
सम्बोधनको क्रममा राउतले नेपालमा विभेद र शोषण कायमै रहेको बताए। 'यहाँ हरेक पाइला पाइलामा रंगभेद छ', रंगभेद छैन भन्नेहरुप्रति लक्षित गर्दै उनले भने, 'रंगभेद कहाँ छ भन्नेहरुले आफ्नो पूर्वाग्रहको चस्मा खोलेर हेर्नुस्।'
यहाँ पटकपटक व्यवस्था बदलिए पनि रंगभेद, शोषण र विभेद कायम नै रहेको भन्दै उनले असन्तुष्टि जनाए। 'रंगभेद आखिर कहिलेसम्म', उनले सोधे, 'हामी आँप बनेर झरिराख्ने कहिलेसम्म? म यहाँको राज्य र प्रशासनलाई सोध्न चाहन्छु।'
'यो त्यही भूमि हो, जहाँ रितिक रोशनले केही बोल्यो भन्दैमा मधेसीहरुलाई सडकमा ल्याएर पिटिएको थियो। यो त्यही भूमि हो, इराकमा केही मानिस मारिँदा यहाँको मस्जिदमा आगो लगाइयो', उनले भने, 'त्यहीँ पनि सोधिन्छ, रंगभेद कहाँ छ?'
उनले रंगभेद कुनै खेतमा नउम्रिएको, आकाशबाट नझरेको बताए। 'रंगभेद फल्ने खेत भनेको हाम्रो संकीर्ण मानसिकता हो', उनले भने, 'त्यसलाई मलजल गर्ने भनेको खोक्रो राष्ट्रवादले हो। त्यसलाई बढावा दिने र संरक्षण गर्ने भनेको राज्यले हो। राज्यले मुलुकी ऐन लागू गरेर त्यतिबेला रंगभेदलाई संस्थागत गरेकै हुन्। अहिले पनि घोषित र अघोषित रुपमा रंगभेदलाई संस्थागत गरेकै छ। राज्यले प्रश्रय दिएकै छ। खोक्रो राष्ट्रवादीहरुले आगो झोस्ने काम गरेका छन्।'
राउतले राष्ट्रवादी भनिनेहरुले नै पटकपटक राष्ट्रघात गरेको बताए।

उनले राष्ट्र नेपालको निर्माणमा मधेसीको पनि योगदान भएको बताए। 'नेपालमा जति पनि राजनीतिक क्रान्ति भएको छ, परिवर्तन भएको छ, मधेसी बिना त्यसलाई परिकल्पना पनि गर्न सकिँदैन', उनले भने', '२००७ सालको क्रान्ति मधेसबाट सुरु भएको हो। पहाडबाट होइन। जति पनि कांग्रेसीले भाग लिएका थिए, तिनीहरुलाई बासमती चामल र रहू माछा खुवाएर पाल्ने मधेसी नै हुन्।'
उनले आफूले मधेसी, थारु, आदिवासी र जनजातिहरुलाई मानव सरह व्यवहार गरियोस्, उनीहरुलाई गाडीमा रंगभेदी गाली गरियोस्, आफ्ना सन्तानहरुलाई काठमाडौंका गल्लीहरुमा रंगभेदी गाली नगरियोस्, कलेजका कक्षाकोठामा दुर्व्यवहार नगरियोस् भन्ने खोजेको उनले बताए। 'असनदेखि कमलादी जाँदा धोती लगाएको मान्छेको धोती नखुस्काइयोस्, हामीले खोजेको त्यती हो', उनले भने।
उनले रंगभेद नहोस् भनेर आफूहरुले भिख नमागेको बताए।
उनले आफ्नो सम्मान खोज्नु नैतिक दायित्व भएको बताए।
लामो समयसम्म स्वतन्त्र मधेसको अभियान चलाएका राउतले केही समयअघि मात्रै जनमत पार्टी निर्माण गरेका थिए। पार्टी गठनपछि राजधानीमा यो पहिलो कार्यक्रम हो। आसन्न उपचुनावमा सो पार्टीले केही स्थानमा उम्मेदवारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।