काठमाडौं- फिल्म 'नाका'ले शुक्रबार प्रिमियर सो सम्पन्न गरेको छ। काठमाडौंको जय नेपाल हलमा भएको प्रिमियरमा फिल्मकर्मी, सञ्चारकर्मी तथा अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो। शुक्रबारबाटै प्रर्दशनमा आएको 'नाका' नेपाल-चीन सिमानामा हुने ग्याङ्स्टरको काथमा आधारित फिल्म हो।
नाकामा बस्ने कतिपय मानिसको अवैध धन्दामा रहने संलग्नताको कथालाई फिल्ममा उतारिएको छ। अभिनेता विपिन कार्कीको मुख्य अभिनय रहेको नाकालाई दर्शकले राम्रो प्रतिक्रिया दिए। फिल्ममा 'गोल्डी डन'का रुपमा देखिएका विपिनको अभिनयको दर्शकले चर्चा गरेका थिए।
विपिनको 'गोल्डी डन' क्यारेक्टरबारे कलाकार कमलमणि नेपालले भने, 'फिल्म मेन क्यारेक्टर अनुरुप अगाडि बढेको छ। जसले गर्दा दर्शकको उत्सुकताको मनोभाव फिल्मको अन्त्यसम्म नै कायम रहन्छ। फिल्म ठिकै लागे पनि अभिनय भने उत्कृष्ट छ।'
‘पशुपति प्रसाद’ फिल्मबाट ‘भष्मे डन’का रूपमा चर्चा बटुलेका अभिनेता विपिन कार्कीको नाकामा देखिएको नयाँ रुपलाई पनि दर्शकले रुचाएको प्रतिक्रिया दिए। फिल्म नाकामा हेयर स्टाइल र अभिनय शैलीमा अघिल्ला फिल्महरु भन्दा निकै भिन्न देखिएका छन् विपिन।
फिल्म हेरेर निस्कँदै विपिनले भने, 'विशेषगरी नाकामा हुने यथार्थ घटनालाई अध्ययन गरेर फिल्म गरेको हुँ। म ती ठाँउहरुमा जाँदा प्रायः फिल्ममा देखाइको जस्तै मान्छेका अनुभव र जीवनी पाँए। स्क्रिप्ट पनि त्यसै अनुरुप भएकाले फिल्ममा मैले मुख्य भूमिका निर्वाह गरेकु हुँ।'
अमित श्रेष्ठको लेखन तथा निर्देशित रहेको फिल्ममा अभिषेक सुवेदीको पटकथा छ। फिल्मलाई प्रविन टक्की कार्कीले निर्माण गरेका हुन्। नाकामा विपिनसँगै थिन्ले ह्लामो, रविन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्व, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।