काठमाडौं- आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागका विषयमा शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराएको छ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटेको हो।
भेटमा मन्त्री नेम्बाङले आफूले भर्खरै पदभार ग्रहण गरेकाले व्यवसायीको मागमा अध्ययन गरिरहेको बताए। समृद्ध नेपाल, सुखी नेपाली भन्ने वर्तमान सरकारको अवधारणा पूरा गर्न व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्री नेम्बाङले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको समेत बताए।
महासंघ अध्यक्ष सिंहले सरकारले विगतमा आफैले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जानु व्यवसायीको रहर नभई बाध्यता भएको प्रष्ट पारेका थिए।
यसैबीच सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले महासंघका मागका विषयमा माथिल्लो निकायमा नै गम्भीर छलफल चलिरहेको जानकारी दिए। ऐन संशोधन गरेर व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत सचिव सापकोटाले व्यक्त गरेका थिए।
निर्माण व्यवसायीहरुले राम्रो गरिरहेको भन्दै सचिव सापकोटाले सिमित परियोजनामा मात्र समस्या रहेको बताए। मंसिर ४ गतेको राष्ट्रिय भेलाले दिएको म्याण्डेट अनुसार म्याद थप, क्रेडिट लाइन लगायतका अन्य समसामयिक समस्या समाधानका लागि महासंघ चरणबद्ध आन्दोलनमा होमिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।