जनकपुर- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजेन्द्र महतोले समाजवादी पार्टी सरकारबाट बाहिरिए मात्र पार्टी एकता सम्भव भएको बताएका छन्।
शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष महतोले समाजवादी पार्टी सरकारसँग नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नभएको बताए।
उनले भने, ‘देशमा कांग्रेस र कम्युनिस्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ, त्यसलाई हामी पुरा गर्न लागी परेका छौं, तर समाजवादी पार्टी सरकारले नछोडेसम्म पार्टी एकताको सम्भावना छैन।’
उनले राजपा नेपाल वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढेको हुँदा सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण नहुने भएकाले समाजवादीसँग तत्काल एकता सम्भव नरहेको बताए।
महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावना अनुरुप वैकल्पिक शक्ति निर्माण गर्न सहयोग गर्नका लागि आग्रह गर्दै उनले भने, ‘लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीसँग एकताको विषयमा कुरा अघि बढिरहेको छ।’
मन्त्रीमण्डल पुनर्गठनको विषयमा आफूहरु प्रतिपक्षी दल भएकाले चासोको विषय नभएको बताउँदै महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताए। उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरु विरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताए।
‘हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले त सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ।’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।