कास्की- कास्की निर्वाचन क्षेत्र नं २मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विद्या भट्टराई (अधिकारी)ले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताएकी छन्।
पोखरा महानगरपालिकाको दक्षिण भेग वडा नं २१मा शुक्रबार आयोजित चुनावी घरदैलो कार्यक्रममा उनले अबको तीन वर्षको अवधिमा बाँकी योजना सफल बनाएरै छाड्ने उद्घोष गरिन्।
निर्मलपोखरीको दम्सादीबाट ८७ वर्षीया जसोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट आशीर्वाद लिँदै शुभारम्भ भएको घरदैलो कार्यक्रम फेदीपाटन, अम्बोट हुँदै दबारमा पुगेर चुनावीसभामा परिणत भएको थियो।
नेकपा पोखरा–२१का चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा-२१का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेल लगायतले नेकपा सरकारले गरेका कार्यको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे प्रकाश पारेका थिए।
यसैबीच निर्वाचन क्षेत्रका ११ वटै वडामा शुक्रबार नै नेकपाले पदयात्रा निकाल्दैछ। महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका वडामा नेकपाले पदयात्रा निकाल्न लागेको हो।
पोखरा-८का महिलाले पनि शुक्रबार बिहानै भट्टराईका पक्षमा पदयात्रा निकालेका छन्। सिर्जनाचोकबाट सुरु भएको पदयात्रा जाल्पारोड, बगालेटाल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।