राष्ट्रपति विद्यादेवी भण्डारीले केही महिनाअघि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७को सरकारको नीति तथा कार्यक्रममा फिल्मसम्बन्धी एउटा मात्रै बुँदा समावेश भएको थियो- नेपालमा विदेशी फिल्म छायांकन सम्बन्धी।
त्यतिबेला संसदमा राष्ट्रपति भण्डारीले उद्घोष गरेकी थिइन्, ‘छायाँकनका लागि नेपालमा कार्यक्रम सञ्चालन गरी सिनेमा तथा छायाँकनका लागि नेपाल आउने विदेशीका लागि आवश्यक पर्ने सम्पूर्ण सेवाहरू एकद्धार प्रणालीबाट उपलब्ध हुने व्यवस्था मिलाइने छ। छायाँकनका लागि विदेशीहरूको आकर्षण वृद्धि गर्न आवश्यक कदम चालिनेछ।’
यसले ‘भिजिट नेपाल २०२०’ अभियान सफल पार्न लागेको सरकार विदेशी फिल्मलाई नेपालमा सुटिङ गराउन कतिसम्म सचेत छ, यसको स्पष्ट संकेत गर्छ।
विदेशीको ‘सुटिङ हब’
नेपाल अहिले विदेशी फिल्म सुटिङका लागि सुन्दर हब बनिरहेको छ। पछिल्ला केही वर्षमा ठूल्ठूला ब्यानरका हलिउड तथा बलिउड फिल्म यहाँ सुटिङ हुनुले पनि यस्तै संकेत गर्छ ।
चार वर्षअघि चर्चित सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ न्युरोड, पाटन, ठमेल, असन, स्वयम्भू लगायतका स्थानमा करिब एक हप्ता सुटिङ भएको थियो। त्यतिबेला यो फिल्मको सुटिङका लागि लोकप्रिय हलिउड अभिनेता बेनेडिक्ट कम्बरब्याच नेपाल आएका थिए। उनीसँगै ओस्कार विजेता फिल्म ‘टुवेल्भ इयर्स अ स्लेभ’का अभिनेता चिउटेल इजिफोर पनि सुटिङमा उपस्थित थिए।
हलिउडको अर्को ठूलो फिल्म ‘एभरेष्ट’को सुटिङ पनि नेपालमै भएको हो। ०७० सालतिर सुटिङ भएको यो फिल्मले सन् १९८६ मा सगरमाथा आरोहणका क्रममा निधन भएका आरोहीको कथा प्रस्तुत गरेको थियो।

तस्बिरः रामकृष्ण पोखरेल
सुटिङकै लागि हलिउडका लोकप्रिय अनुहार जोस बर्लिन, ज्यासन क्लार्क लगायत कलाकार त्यतिबेला नेपाल आएका थिए। नेपालका विजय लामा र केही शेर्पाले पनि त्यस फिल्ममा अभिनय गरेका छन्। वाल्टसमर कोर्माकुरले निर्देशन गरेको त्यो फिल्म काठमाडौंमा केही भाग र सगरमाथा आधार शिविरमा सुटिङ गरिएको थियो। ५५ मिलियन डलरमा बनेको भनिएको यो फिल्मले बक्सअफिसमा धमाका पिट्यो। बक्सअफिस रिपोर्ट अनुसार यो फिल्मले १ सय ९८ मिलियन डलर कमायो।
त्यस्तै अन्य दुई अंग्रेजी फिल्म ‘सोल्ड’ र ‘हाइवे टू धम्पुस’ पनि नेपालमा छायाँकन भएका थिए। दुवै फिल्मको सुटिङ पोखरा र आसपासका क्षेत्रमा भएका थिए।
नेपालमा हलिउडका ठूला सिनेमा मात्रै होइन, बलिउडका ठूला ब्यानरका सिनेमा पनि छायाँकन भएका छन्। अक्षयकुमार स्टारर हिन्दी फिल्म ‘बेबी’ काठमाडौंमै छायाँकन भएको हो। यो फिल्ममा भक्तपुर दरबार क्षेत्रदेखि हायात होटलसम्मका दृश्य छन्।
दक्षिण भारतीय फिल्म ‘दस गिने से पहेले’को सुटिङ पनि नेपालमा भएको थियो। दक्षिण भारतीय फिल्मका सुपरस्टार विक्रम अभिनित यस फिल्म तीन साताको अवधिमा भक्तपुर, भैंसेपाटी, स्वयम्भू र मुडेमा छायाँकन भएको थियो। सुटिङका लागि भारतबाट एक सय कलाकार र प्राविधिक आएका थिए। नेपालका तर्फबाट अभिनेता सुनिल थापाले पनि यो फिल्ममा अभिनय गरेका छन्।
त्यस्तै ‘लर्ड बुद्ध’ र ‘अ नाइट ट्रेन टु काठमाडौं’, ‘द गोल्डन चाइल्ड’, ‘बराक’, ‘सेभेन एअर्स इन तिब्बत’, ‘द फल’, ‘वियोन्ड दी एज’ लगायत पनि नेपालमा सुटिङ भएका अंग्रेजी फिल्म हुन्।
त्यस्तै देवानन्दको ‘हरे राम हरे कृष्ण’, अमिताभ बच्चनको ‘खुदा गवाह’ र ‘महान’, अनिल कपुरको ‘युद्ध’ र गोविन्दाको ‘एक हसिना एक दिवाना’लगायतका हिन्दी फिल्ममा पनि नेपालका दृश्य देख्न सकिन्छ। साउथ इन्डियन फिल्महरु ‘दसका दम’मा पनि नेपालका दृश्य कैद छन्। सगरमाथा आरोही एडमन्ड हिलारीको जीवनीमा आधारित न्युजिल्यान्डको एउटा टेलिभिजन ड्रामा ‘हिलारी’को छायाँकन पनि यतै भएको हो।
चलचत्रि प्राविधिक संघ नेपालका अध्यक्ष पुष्कर लामाका अनुसार नेपालमा अंग्रेजी, हिन्दी, चिनिया, कोरियन, रसियन, ब्राजिली, इटाली लगायत देशका फिल्म गरि करिब ४ हजारभन्दा बढी ठूला फिल्मको सुटिङ भइसकेको छ। ‘यहाँ सुटिङ हुने प्रायः विदेशी फिल्मले काठमाडौं उपत्यकाका विभिन्न ऐतिहासिक सम्पदा र हिमाली भू-भागलाई खासगरी आफ्नो सुटिङ लोकेसन बनाउने गर्छन्,’ उनले भने।
'झन्झटिलो छ प्रक्रिया'
विदेशीका लागि नेपालमा सुुटिङ गर्ने प्रक्रिया झन्झटिलो रहेको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई बताउँछन्। ‘विदेशी फिल्मको सुटिङको जिम्मा ट्राभल एजेन्सीहरूलाई दिइरहेका छन्। धेरैजसोले चलचित्र नै नबुझेका कारण विदेशी फिल्मकर्मीले दुःख पाइरहेको अवस्था छ। त्यसैले सरकार अब एकद्धार नीति लागू गर्ने तरखरमा छ,’ उनले भने।
विदेशी फिल्म यहाँ सुटिङ गर्न सर्वप्रथम सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ। स्वीकृतिका लागि फिल्मको कथा, कलाकार र प्राविधिकबारे पूर्ण जानकारी मन्त्रालयमा बुझाउनुपर्छ। सँगसँगै फिल्मका लागि एउटा ‘लाइन प्रोड्युसर’ नेपाली मुलकै राख्नुपर्ने प्रावधान छ।
शुल्कको कुरा गर्नुपर्दा धेरै खर्च लाग्दैन। पर्मिटका लागि विकास बोर्डलाई ५० रुपैयाँ शुल्क बुझाउनु पर्छ भने सुटिङका क्रममा खिचिएका दृश्यको सेन्सरसिपका लागि १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ। तर सम्पदा, राष्ट्रिय निकुञ्जजस्ता महत्वपूर्ण लोकेसनमा छायाँकन गर्दा छुट्टै रकम तिनुपर्ने व्यवस्था भने छ।
नेपाल पर्यटन बोर्ड, पोखराका प्रबन्धक सूर्य थपलिया पनि नेपालमा चलचित्र सहजै छायाँकन गर्न सकिने अवस्था नरहेको दाबी गर्छन्।
केही महिनाअघि चलचित्र पत्रकार संघ, नेपालले पोखरामा आयोजना गरेको ‘चलचित्र पत्रकारिता कार्यशाला’मा ‘पर्यटन र चलचित्र’को बिषय अन्तर्क्रिया भएको छ। अन्तर्क्रियाको सहजीकरण गर्ने क्रममा उनले नेपालमा चलचित्र छायाँकनका लागि विदेशीहरूलाई आकर्षित गर्ने र सरकारले जसरी पनि एकद्धार नीति लागू गर्नुपर्ने बताएका थिए।
‘यहाँ त सञ्चार मन्त्रालयले चलचित्र छायाँकनका लागि अनुमति दिएपछि पनि लोकेसन अनुसार पनि छुट्टाछुट्टै अनुमती लिनुपर्ने व्यवस्था छ। यो त झन्झटिलो भएन र? यसमा सरकारले ध्याउन पुर्याउन आवश्यक छ,’ उनले भनेका थिए।
यद्यपि, विदेशी फिल्महरू नेपालमा सुटिङ गर्न किन लालयित भइरहेका छन्। चलचित्र प्राविधिक संघका अध्यक्ष लामा भन्छन्, ‘यहाँ सुन्दर हिमश्रृंखलाहरू छन्। विश्वकै अग्लो हिमाल छ। गौतम बुद्धको जन्मस्थल पनि हो। विश्वभर बहादुर गोर्खालीका रुपमा नेपालीहरुको ठूलो पहिचान पनि छ। प्राकृतिक रुपमा पनि नेपाल धनी छँदैछ। यी सब कारणले विदेशीहरू नेपालतर्फ लोभिएका हुनसक्छन्।’

‘भारतलाई रिझाउन नीति’
सरकारले आफ्नो नीति तथा कार्यक्रममा फिल्मसम्बन्धी एउटामात्रै बुँदा समावेश गरेपछि फिल्मकर्मीले यसको चर्को आलोचना गर्दै आइरहेका छन्।
नीति तथा कार्यक्रम सरकारले वर्षभरि गर्ने योजनाको मूल खाका हो तर फिल्मसम्बन्धी नीतिले सरकारलाई विदेशी फिल्मको मात्रै चिन्ता रहेछ, स्वदेशीको मतलब रहनेछ भन्ने देखाएको थियो। त्यतिबेला फिल्म निर्देशिक मनोज पण्डितले त नेपाली फिल्मलाई बेवास्ता गरेर विदेशी फिल्मकोमात्रै सम्बोधन गरिनुको पछाडि भारतलाई रिझाउनुपर्ने बाध्यता कारण रहेको आरोप लगाएका थिए।
‘यो भारतलाई खुसी बनाउन हिन्दी फिल्मको सहजताका लागि लेखिएको बुँदा हो,’ विदेशी फिल्मको सुटिङबारे आएको बुँदामा उनको आज पनि यही तर्क छ।
त्यसो त पछिल्ला केही दृष्टान्तले संकेत पनि त्यस्तै गर्छ। जस्तो, केही वर्षअघि नेपालमा बलिउड अभिनेता अक्षय कुमारको ‘बेबी’ फिल्मको सुटिङ भएको थियो। त्यतिबेला यो फिल्मको युनिट विमानस्थलमा जानकारीबिना सुटिङ गरेर विवादमा तानिएको थियो।
त्यति मात्र होइन, नेपालमा सुटिङ हुँदा व्यवस्थापनमा सहयोग पुर्याएको रामकृष्ण पोखरेलको कम्पनी ‘फिल्म इन नेपाल’लाई पैसा नतिरी हिँडेको आरोप लगाइएको थियो। आरोपलगत्तै गौशाला प्रहरी वृत्तले फिल्मको जम्बो टोलीको फ्लाइट नै क्यान्सिल गराएको थियो।
फिल्म युनिटको सामानसमेत जफत गरिएको थियो। र, सुटिङका क्रममा उत्पन्न भएको यो असहजता त्यतिबेला भारतीय दूतावास हुँदै नेपाल सरकारसम्मै पुगेर टुंगिएको थियो। त्यस्तै केही समयअघि भारतका चर्चित निर्देशक सुभाष घई एउटा तालिमका लागि भनेर नेपाल आएका थिए। त्यही क्रममा उनी सहजै प्रधानमन्त्री भेट्न बालुवाटार छिरे। उनले प्रधानमन्त्रीलाई ओशोमाथि फिल्म बनाउन लागेको र त्यसको सुटिङ नेपालमा गर्ने योजना सुनाएका थिए। जुन अझै पूरा भएको छैन।
भारतको चर्चित जि सिने अवार्ड नेपालमा गर्ने उद्देश्यका साथ आयोजकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार गएर भेट्यो। उनीहरूले नेपालमा फिल्मसिटीसमेत बनाउने भनेर सरकारी खर्चमा घुमे। तर न कार्यक्रम भयो न फिल्मसिटीको अवधारणा अगाडि बढ्यो।
यद्यपि, बालुवाटारमा प्रवेश भएका यी तीन घटनाले के स्पष्ट पार्छ भने भारतीय सिनेमा र यसको नेपालमा सुटिङ सहज बनाउने विषयमा प्रधानमन्त्री पटकपटक जानकार र सचेत थिए।
‘यिनै घटनाहरूको प्रभावका कारण विदेशी फिल्मको छायाँकनबारे राज्यले चासो देखाएर नीतिमै राखेको हो नत्र नेपाली र विदेशी कुनै पनि फिल्मबारे राज्य बोल्नेवाला थिएन। यसबाहेक अरु कुनै कारण छ जस्तो लाग्दैन,’ फिल्म निर्देशक पण्डित भन्छन्।
तर चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई यो तर्कसँग सहमत छैनन्। ‘विदेशी फिल्म छायाँकनको झन्झटिलो प्रक्रिया समाधानका लागि यो आवश्यक थियो,’ उनी भन्छन्, ‘फेरि नेपाललाई सुटिङ डेस्टिनेसनका रुपमा विश्वभर चिनाउनका लागि पनि पाहुनाहरुको प्रवेश सहज बनाउन आवश्यक छ। हामी त सुटिङ स्पटहरुको लोकेसन गाइड नै तयार पारिसक्यो। भिज्युअल पनि तयार पारेका छौं। आशा छ, यसले विश्वभर नेपालको प्रवद्धनमा सहयोग पुर्याउनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।