काठमाडौं- नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गरेका छन्।
मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूलाई बधाई दिन आएका करिव ४८ जना अनाथ बालबालिकासँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट गरेका थिए।
भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताए।
त्यसका लागि उनले बालबालिकासम्बन्धी ऐन, नियमको आवश्यक संशोधन तत्काल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
मन्त्री गुरुङले बालगृहको नाममा ठगी खानेहरुलाई भने सरकारले कारवाही गर्ने बताए।
मन्त्री गुरुङले काठमाडौंको गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रको संरक्षणमा रहेका ती अनाथ बालबालिकाहरुलाई यस अघि पनि खाद्यन्न तथा लत्ताकपडा लगायतका वस्तुहरुको सहयोग गर्दै आएका थिए।
उनले अनाथ टुहुरा बालबालिकाहरुको हितमा आफू केन्द्रित हुने बताए। संस्थाका अध्यक्ष तिलबहादुर कार्कीले मन्त्री गुरुङले आफ्नो संरक्षणमा रहेका अनाथ बालबालिकाहरुप्रति विगतमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।