काठमाडौं– धादिङको उत्तरी विकट हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका–५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ । नेपाल सरकार मन्त्री परिषदको गत असोज ७ गतेको निर्णयले उक्त चौकी थप निकासा भई आएको थियो ।
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राज कुमार बैदवार र रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङले बिहीबार आयोजित कार्यक्रममा उक्त प्रहरी चौकीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भौगोलिक कठिनाइको कारण संवेदनशील मानिएको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएबाट त्यहाँका नागरिकले सहज रुपमा प्रहरी सेवा प्राप्त गर्न सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राज कुमार बैदवारले बताए । सेवासँग सँगै शान्ति सुरक्षा र अपराध नियन्त्रण गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनले उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक मुकुन्द मरहठा, रुवीभ्याली गाउँपालिकाका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय बासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।