काठमाडौं- काठमाडौंको प्रदर्शनी मार्गमै केन्द्रीय रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण हुने भएको छ। रक्तदाता र रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई सहज पहुँचका लागि भूकम्पले भत्काएको पुरानो भवन भएकै ठाउँमा नयाँ भवन बनाइने भएको हो।
२०२३ सालदेखि सुरक्षित र स्वच्छ रक्तसञ्चार सेवा तथा रगतको अनुसन्धान गर्दै आएको सो केन्द्रको भवन २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको थियो। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सो केन्द्र हाल अस्थायी रुपमा ललितपुरको बालकुमारीबाट सञ्चालित हुँदै आएको छ।
विश्व स्वास्थ्य संगठनको भवन मापदण्ड अनुसार निर्माण गर्न एवं केन्द्रका लागि आवश्यक उपकरणका लागि नेपाल रेडक्रसलाई थाइल्यान्ड रेडक्रसले करिब ४५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सोसाइटीका अध्यक्ष सञ्जीव थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नेपालका लागि थाई राजदूत भागवत तान्स्कुलले संयुक्त रुपमा भवनको बिहीबार शिलान्यास गरे।
सोसाइटीका प्रबन्ध निर्देशक उमेश ढकालका अनुसार पाँचतले अत्याधुनिक भवन १८ महिनाभित्र बन्नेछ। भवनमा रक्त सेवालगायत अनुसन्धान कक्षसमेत रहनेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।