काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण गरी निर्देशन दिएका छन्।
निरीक्षणपछि निर्देशन दिदै उनले व्यक्तिगत उन्नति र समृद्धिभन्दा माथि उठेर देश र जनताको हितमा समर्पित रहँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्दै आफूलाई नमूनाको रुपमा प्रस्तुत गर्न निर्देशन दिए।
संविधान कार्यान्वयनको मुख्य कडीको रुपमा रहेको तीनै तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले मुलुकको संघीय संरचना अनुरुप प्राप्त हुने हरेक जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट सम्पन्न गरी जनताको मनमस्तिष्कमा बस्न आगामी दिनमा अझै सफलता मिल्ने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरी बल चेन अफ कमाण्डमा चल्नु पर्ने भएको हुँदा सवैले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारीलाई अक्षरस पुरा गर्नुपर्ने बताउदै उनले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
उनले भने‘सीमा सुरक्षा, विपद व्यवस्थापन, विशिष्ट व्यक्तिको सुरक्षा लगायत महत्वपूर्ण जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल सफल रहेको छ ।’
सीमित साधनश्रोतका बाबजुद उल्लेखनीय कार्य गरिरहेको सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने श्रोतसाधनको उपलब्धताको लागि गृहमन्त्रालयले संभव भएसम्मको प्रयास गर्ने आश्वासन दिएका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाललाई हरपल चलायमान फौजको रुपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता महशुस गरी कामकारवाही भइरहेकोे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।