काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली रुस र सर्बियाको साताव्यापी लामो औपचारिक भ्रमणमा जाने भएका छन्।
ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार रुस प्रस्थान गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्ने छन्।
नेपालबाट परराष्ट्रमन्त्री स्तरबाट ८ वर्षपछि रुसमा भ्रमण हुन लागेको हो।
सन् २०११ मा तत्कालीन पररराष्ट्र मन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गरेका थिए।
सन् १९९२ मा रुसका परराष्ट्र मन्त्री नेपाल आएका थिए।
मन्त्री ज्ञवालीको भ्रमणका क्रममा नेपाल र रुसबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।
रुसमा रहँदा मन्त्री ज्ञवालीले नेपाल-रुस सम्बन्धबारे त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी संस्थाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
उनले रुसका राजनीतिक पार्टीका नेता र गैरआवासीय नेपालीहरुका प्रतिनिधिसँग पनि भेटघाट गर्नेछन्।
त्यस्तै मन्त्री ज्ञवाली मंसिर ११ गते सर्वियाको बेलग्रेड पुग्ने छन्।
यही महिना नेपाल र सर्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दैछ।
सर्वियामा रहँदा उनले उपप्रधान तथा विदेश मन्त्रीसँग भेट गर्ने छन् भने उच्च तहमा शिष्टाचार भेटवार्ता गर्ने छन्।
त्यस्तै लगानी र पर्यटन प्रवद्धनका लागि स्थानीय चेम्बर्स अफ कर्मसले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा पनि मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राजदूत र अन्य सरकारी अधिकारी रहने छन्।
मन्त्री ज्ञवाली मंसिर १४ गते स्वदेश फर्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।