दुई वर्षअघि भारतमा कमेडियनद्वय कपिल शर्मा र सुनिल ग्रोबरबीच विवाद चर्किएका बेला बलिउड सुपरस्टार सलमान खानले स्टारडममाथि निकै घतलाग्दो अभिव्यक्ति दिएका थिए।
कपिललाई सुुझावस्वरुप आफ्नो अनुुभव सुनाउँदै उनले भनेका थिए, ‘मान्छेले सधैँ आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सक्नुपर्छ। म अहिले करिअरको यस्तो घडीमा छु कि अक्सर मान्छे मेरो काममा ‘हो मा हो’ मिलाउँछन्। यस्तो अवस्थामा कहिलेकाहीँ आफू सही दिशामा छु या गलत, मलाई ठम्याउनै मुस्किल पर्छ। त्यसैले म आफ्नो परिवार र साथीहरुको सुुझावलाई निकै गम्भीरतापूर्वक लिन्छुु किनभने उनीहरु नै हुन्, जसले मलाई जमिनमै टिकाइरहन्छन्, हावामा उड्न दिँदैनन्।’
अब कुरा गरौं, नेपाली अभिनेता आर्यन सिग्देलको। एक समय थियो जतिबेला जताततै आर्यनकै ‘हाइहाइ’ थियो। फिल्म इन्डस्ट्रीसँग जोडिएका अधिकांश साना या ठूला फिल्ममेकर्स उनीसँग काम गर्न लालायित हुन्थे।
त्यतिबेला फिल्म वितरकहरु पनि आर्यनको फिल्म भन्नासाथ उत्साहित हुन्थे। खासगरी त्यो समय आर्यन नेपाली फिल्मका दर्शकलाई हलसम्म तान्ने चुम्बक बनेका थिए। उनलाई भेट्न, सँगै फोटो खिचाउन युवायुवतीको ठूलो समूह मरिहत्ते गथ्र्यो।
अहिले दृश्य फेरिएको छ। एकातिर ‘चकलेटी हिरो’का रुपमा बजारले आर्यनको विकल्पमा अनमोल केसी, प्रदिप खड्काहरु पाइरहेको छ भने अर्कोतिर आर्यनको स्टारडमको चमक भने दिनप्रतिदिन फिक्का हुँदै गइरहेको छ।
गुमेको स्टारडम फर्काउनलाई उनले अनेक प्रयास र तिकडमहरु नगरेका होइनन्। तर, सफल हुन सकेका छैनन्। ‘होमवर्क’ फिल्ममा आफ्नो हुलिया नै परिवर्तन गरे, आफूलाई आफूभन्दा पाका देखाए तैपनि केही लागेन।
त्यो बेलासम्म अभिनेत्री रेखा थापासँग उनको सम्बन्ध राम्रो थिएन। एकातिर बजारमा न रेखाको फिल्म सोचेजसरी चलिरहेको थियो, न उनको। दुवैले आफ्नो तिक्तालाई मित्रतामा परिणत गर्दै ‘रुद्रप्रिया’मा जोडी बनेर काम गर्ने निर्णय गरे।
पर्दामा ‘कमब्याक जोडी’ भनेर प्रचार पनि भयो। यद्यपी फिल्मले आर्यनको गुमेको स्टारडम फर्काउन सकेन।
त्यसपछि उनलाई अफर आयो साम्राज्ञी राज्य लक्ष्मी शाहसँग फिल्म खेल्ने।
बजारमा साम्राज्ञीको माग र चर्चा बढिरहेको थियो। सोचे– साम्राज्ञीसँग जोडी बाँध्दा राम्रै होला कि! त्यसपछि आफूभन्दा उमेरले निकै कान्छी साम्राज्ञीसँग ‘कायरा’मा जोडी बनेर अभिनय गरे, तैपनि फिल्म चलेन।

यही वर्ष आर्यनको ‘हजार जुनीसम्म’रिलिज भयो। यो फिल्म प्रमोसन ताका उनले मिडियामा दिएका अन्तरवार्ता हेर्दा लाग्थ्यो, उनले यो फिल्मबाट ठूलो आशा राखेका थियो। तर विडम्बना यो फिल्मले पनि उनको ‘असफल फिल्म’को सूची बढाउनबाहेक उनको करिअर ग्राफमा अरु केही सहयोग पु-याउन सकेन।
मान्छे स्वभावैले आशावादी हुन्छ। यही शुक्रवारबाट आर्यनको अर्को नयाँ फिल्म ‘च च हुई’ रिलिज हुँदैछ। सायद आर्यनमा स्टारडम फर्किने त्यो आशा अझै गुमेको छैन। फिल्मको प्रचारात्मक कार्यक्रम र मिडियासँगको कुराकानीमा उनको त्यो आशा प्रष्ट झल्किरहेकै छ।
यो फिल्ममा आफू देश र राष्ट्रियता सम्झेर विदेशबाट स्वदेश फर्किने युवाको क्यारेक्टरमा रहेको उनी बताउँदै आइरहेका छन्। तर उनको यो क्यारेक्टर दर्शकको मनमा बस्न सक्ने हो/होइनन्? फिल्मलाई दर्शकले रुचाउने हो/होइन?
यसको संकेत त शुक्रबार बिहानबाटै सिनेमा हलहरुमा देखिनथाल्छ नै, सँगसँगै कमजोर हुँदै गइरहेको उनको ‘स्टारडम’को फेरि एकपल्ट परीक्षण पनि हुनेछ।
तस्बिरः योगप्रसाद विमली 'आर्यन'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।