काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उप–निर्वाचनका लागि अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ।
मंसिर १४मा हुने उपनिर्वाचनका लागि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।
निर्वाचन आयोग समन्वय समितिका सदस्यमा केन्द्रीय सदस्य सीता गुरुङ्ग, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम के.सी., अधिवक्ता तेज रावल सदस्य रहेका छन्। समितिको सचिवमा केशव रिजाललाई तोकिएको छ।
सरकार र सत्तारुढ दलका कार्यकर्ता तथा जनप्रतिनिधिबाट निर्वाचन आचार संहिताको ठाडो उल्लघंन भएको समन्वय समितिले आरोप लगाएको छ।
निर्वाचन आचार संहिता लागु भइसकेको अवस्थामा पछिल्लो सत्तापक्षले निरन्तर आचारसंहिता विपरित सत्ताको दुरुपयोग गरी उप–निर्वाचनलाई प्रभावित गरिरहेको संयोजक रमेश लेखकले आरोप लगाए।
सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचार प्रसारमा लागेको, विभिन्न स्थानमा पूर्व कार्यक्रममा नभएका नयाँ योजना पार्ने साथै निर्वाचन प्रभावित पार्न आश्वासन दिने तथा बजेट सत्तापक्षले उपलब्ध गराएको कांग्रेसको आरोप छ।
३७ जिल्लाका ५२ स्थानमा मंसिर १४मा उप निर्वाचन हुँदैछ। प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, उप–महानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ४३ वडा अध्यक्षका लागि निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।