काठमाडौं– समाजवादी पार्टीले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनलाई लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताएको छ।
प्रधानमन्त्री केपी ओलीले गरेको पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा समाजवादी पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएका थिए। एक राज्यमन्त्रीलाई पदमुक्त गरिदिएका थिए। यादव कार्यक्रमको सिलसिलामा भारतमा छन्। उनलाई जानकारी नै नदिई मन्त्रालय परिवर्तन गरिएको हो।
पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका यादव देश बाहिर र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पनि गोरखामा छन्। सोही सन्दर्भमा समाजवादी पार्टीका काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको अनौपचारिक बैठक बिहीबार बसेको थियो। बैठक पार्टी कार्यालय बालकुमारीमा बसेको थियो।
बैठकमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपमहासचिव प्रकाश अधिकारी लगायतका पदाधिकारी थिए।
'मन्त्री फेर्न पाउने अधिकार प्रधानमन्त्रीलाई भए पनि सरकारमा सहभागी अर्को सत्तासाझेदार पार्टीसँग सल्लाह र सहमति बिना भएको निर्णयलाई सकारात्मक रुपमा लिन सकिँदैन', बैठकको निष्कर्षबारे जानकारी गराउँदै सो पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले भने, 'यो लोकतान्त्रिक मूल्य मान्यता विपरीत छ।'
संघीय परिषद अध्यक्ष र केन्द्रीय समिति अध्यक्ष काठमाडौंमा आएपछि पछिल्लो प्रकरणबारे पार्टीको औपचारिक निर्णय गर्ने बताइएको छ।
डा भट्टराई गोरखाबाट शुक्रबार बिहान र यादव बेलुकी काठमाडौं आइपुग्ने कार्यक्रम छ।
'सम्भवतः पर्सि बिहान औपचारिक बैठक बसेर पार्टीले आवश्यक निर्णय गर्नेछ', पाण्डेले भने। (फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।