काठमाडौं- मन्त्रीमण्डल हेरफेर हुँदा चहलपहल बढेको सिंहदरबारको बिहीबारको चहलपहलले कानुन न्याय तथा संसदीय मन्त्रालयलाई छुन सकेन।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्रीलाई हेरफेर गरेका थिए भने केही मन्त्रालयमा नयाँ अनुहार भित्र्याएका थिए।
कानुन मन्त्रालयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई परिवर्तन गरिएको थियो। तर उनी विदेश भ्रमणमा रहेकाले कुनै चहलपहल देखिएन।
कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा सारिएपछि मन्त्रालय सुनसान बनेको थियो।
सपथ ग्रहणपछि कार्यभार सम्हाल्न अन्य मन्त्रालय पुगेका मन्त्रीहरुलाई बधाई दिने र स्वागत गर्नेको भिड मन्त्रालयहरुमा थियो।
त्यस विपरीत कानुन मन्त्रालय सुनसान थियो। कर्मचारीहरु मोबाइल चलाएर बसेका थिए।
केही कर्मचारीले मन्त्रालय प्राङगणमा फोटो सेसनसमेत गरिरहेका थिए।
मन्त्रीको नेमप्लेटमा निर्वतमान कानुनमन्त्री ढकालकै नाम थियो। नेमप्लेट पुरानै टाँसिएको थियो। पुरानो नेम प्लेटमा भएका भानुभक्त ढकाल कार्यकक्ष बाहिर भएको उल्लेख गरिएको थियो।

स्वास्थ्यमन्त्रीको हैसियतमा एक कार्यक्रममा भाग लिन दिल्ली गएका मन्त्री यादव फर्कदा मन्त्रालय परिवर्तन हुने भएको छ।
यादव नेपाल फर्किनसकेकोले मन्त्रालयका कर्मचारीमा उनलाई स्वागत गर्न हतार छैन। मन्त्रीको आगमनलाई कुरेका कर्मचारी आराममा छन्। कोठाहरु सुनसान प्रायः छन्।
पछिल्लो समय प्रधानमन्त्री ओलीसँग असन्तुष्ट हुन नसकेका मन्त्री यादव फर्केर मन्त्रालय सम्हाल्ने निश्चित छैन।
समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादव फर्केपछि पार्टीको बैठक बसि पदभार ग्रहण गर्ने/नगर्ने निर्क्यौल पार्टीले गर्ने बताइएको छ।
अर्को तर्फ यादवले सम्हालिरहेको मन्त्रालयमा राज्यमन्त्री रहेका डा सुरेन्द्र यादवलाई पनि हटाइएको छ।
संविधान संसोधन गर्ने सहमति सहित ओली सरकारमा प्रवेश गरेको समाजवादीलाई मन्त्रीपरिषदको हेरफेरले झस्किएको छ।
सरकारमा रहेर आफ्नो मन्त्रालयमा प्रभावकारी भुमिका देखाउन नसकेका यादवलाई मन्त्रालयको स्थानान्तरणले थप रुष्ट बनाएको समाजवादीका नेताहरुको धारणा छ।
संविधान संसोधनको मुद्धा जहाँको त्यहिं, मन्त्रालयको कार्य प्रगतिमा सुस्तता, आफ्नै कार्यकर्ताको असन्तुष्टि र मन्त्रालय हेरफेरको पछिल्लो घटनाले समाजवादीले सरकारबाट बाहिरिने संकेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।