काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पहिलो निर्णयमै हस्ताक्षर गर्न अस्वीकार गरिदिएका छन्। स्पष्ट बुझिने र तुरुन्त कार्यान्वयन गर्न सकिने निर्णय नल्याएको भन्दै उनले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।
स्वास्थ्य सचिव खगराज बराल र गुणस्तर तथा अनुगमन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण बरालले अस्पताल र औषधिको गुणस्तरको रणनीति बनाउन फाइल उठाएका थिए। उनीहरुले रणनीति बनाउनका लागि कार्यदल बनाउने निर्णय स्वास्थ्यमन्त्रीका हैसियतमा गराउन खोजेका थिए। तर मन्त्री ढकालले तुरुन्तै नबुझिने र कार्यान्वयन गर्न पनि समय लाग्ने विषयमा थप अध्ययन जरुरी रहेको भन्दै फाइल नै फर्काइदिए।
उनले स्वास्थ्यमन्त्रीका रुपमा पहिलो निर्णय तुरुन्त कार्यान्वयन गराउन सकिने र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषय ल्याउन भनेका छन्। मन्त्रालयले मन्त्री ढकालले भनेबमोजिमकै निर्णय गराउने तयारी गरिरहेको छ।
उनले आफूले स्वास्थ्यलाई संवेदनशील मन्त्रालयको रुपमा लिएकोले हरेक निर्णय गर्नुअघि त्यसले जनस्तरमा पार्ने प्रभाव र हुने उपलब्धि बुझेर मात्रै निर्णय गर्ने बताए। उनले भने, ‘म आफूले स्पष्ट नबुझी र त्यसको प्रभाव थाहा नपाई कुनै पनि निर्णयमा हस्ताक्षर गर्दिनँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।