रसुवा- सडक सञ्जालबाबाट वञ्चित रसुवाको चित्रेपानीका नागरिकहरु यतिबेला गाउँमा सडक पुगेपछि उत्साहित भएका छन्।
रसुवाका प्रतिनिधिसभाका सदस्य इन्जिनियर मोहन आचार्यको व्यक्तिगत लगानीमा कालिका गाउँपालिका २ लामाटोलदेखि चित्रेपानीसम्म सडक पुगेपछि उनीहरु उत्साहित भएका हुन्।
आचार्यको लगानीमा करिब ४ किलोमिटर सडक निर्माण भएको हो। चित्रेपानीका बाग्दल तामाङले भने, 'अब चैं हाम्रो गाउँमा विकासले गति लिन्छ भन्नेमा ढुक्क छौं।'
चित्रेपानीकै मंगली तामाङ पनि खुसी छिन्। 'गाउँमा पनि गाडी चल्ने बाटो आउँछ भनेर कहिले सोचेका थिएनौं। अब त हाम्रो गाउँको पनि केही विकास हुन्छ कि।'
मोटर बाटो पुगेसँगै भूकम्पपीडितहरुलाई घर निर्माणमा प्रत्यक्ष सहयोग पुगेको स्थानीय बाग्दल तामाङले बताए। 'भूकम्पले घर भत्किइहाल्यो, हामीले त घर बनाउन सामान बोकेर ल्याउनुपर्थ्यो। अब त सामान ल्याउन पनि सजिलो हुने भयो।'
भूकम्पपछिको पुनर्निर्माणका लागि इँटा, ढुंगा, बालुवा रड, सिमेन्ट तथा काठ जस्ता अत्यावश्यक वस्तुहरुको ढुवानीमा चर्को मूल्य तिर्दै आएका जिल्लाका नागरिकहरुलाई ग्रामीण सडक निर्माणले सहज हुने बताइएको छ। निर्वाचनको समयमा गरेका प्रतिबद्धतालाई निरन्तरता दिन कालिका गाउँपालिकाका स्थानीय ठाकुर प्रसाद देवकोटाले बताए।
सांसद मोहन आचार्यले बाटोले नछोएका जिल्लाका सबै स्थानहरूमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्याउने अभियान माघ २७ गते एक्स्काभेटर र डोजर जिल्लालाई उपलब्ध गराएर सुरु गरेका थिए। सो अभियानबाट लाभान्वित हुने चित्रेपानी बासिहरु पहिलो भाग्यमानी बन्न पुगेका छन्।
समृद्ध तथा नमुना जिल्ला बनाउने अभियान अन्तर्गत पहिलो चरणमा जिल्लाका सबै ठाउँलाई सडक सञ्जालमा जोड्न अभियान सुरु गरेको आचार्यले बताए । 'मैले चुनावमा उम्मेदवारी दिइरहने समयमा पनि रसुवाली आम नागरिकलाई नमुना जिल्ला बनाउने बाचा गरेको छु,' उनले भने, 'त्यो पूर गर्न अहोरात्र खटिनेछु।'
रसुवा जिल्लाको सबै गाउँमा ग्रामीण सडक सञ्जाल पुर्याउन सांसद आचार्यले व्यक्तिगत १ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको एक्स्काभेटर र डोजर जिल्लालाई उपलब्ध गराएका थिए।
अब दोस्रो चरणमा पासाङल्हामु राजमार्गको पराङ्से बाट पात्ले जोड्ने सडक निर्माणको काम सुरु हुने बताइएको छ । यो सडकको लम्बाई करिब २ किलोमिटर रहेको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिको लाङटाङ, शेर्पागाउँ पार्वतीकुण्ड गाउँपालिकाको हाकु, सानो हाकु, नेसिङ नौकुण्ड गाउँपालिकाका केही स्थानमा अझै पनि ग्रामीण सडक पुग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।