काठमाडौं -नेपाल नगरपालिका संघ प्रदेश नंं ३ ले प्रदेश नंं ३ को अस्थायी राजधानी अपायक भएकाले पायकपर्ने ठाउँमा सार्न माग गरेको छ।
अहिले सरकारले प्रदेश नंं ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको हेटौँडामा राखिएको छ । संघका प्रदेश नं ३ संयोजक भरतबहादुर केसीले विज्ञप्ति जारी गर्दै सबै जिल्लाको समान दूरी र पहँुचको हिसाब हुने ठाउँमा सार्न माग गरेका छन्।
नेपाल सरकारले हालै मात्र नगरपालिकाका प्रमुख र उपप्रमुख, वडाअध्यक्ष र सदस्यको मर्यादाक्रम मानमर्दन गर्ने किसिमले तोकिएकाले त्यसलाई तत्काल सच्याउन माग गर्दै संघले जारी गरेको विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधिको सेवा सुविधा तोक्ने समेत आग्रह गरिएको छ।
प्रदेश कानून बनाइ चाँडै नै जनप्रतिनिधिको सेवासुविधा तोक्न प्रदेश सरकारसँग माग गर्दै संविधानमा संघ र प्रदेश सरकारसँग रहेको साझा अधिकारलाई पनि तत्काल कानून बनाइ स्थानीय सरकारमैत्री बनाउनसमेत संघले विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
यस्तै संघले शिक्षा र स्वास्थ्यमा पठाइएको बजेट कम भएकाले अपुग रकम पठाउन तथा स्थानीय सरकारमा समायोजन हुन बाँकी रहेका कर्मचारी तत्काल पठाउन सरकारसँग आग्रह गरिएको छ ।
सरकारले कर्मचारी समायोजन नहुँदासम्मका लागि अस्थायीरुपमा स्थानीय तहको कार्य सञ्चालनका लागि कर्मचारी खटाएको थियो । तर ती कर्मचारी अझै नपुगेको संघले जनाएको छ ।
यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गरी सो अनुरुप स्थानीय सरकारलाई पर्याप्त हुने रकम उपलब्ध गराउनसमेत संघको माग छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।