काठमाडौं- अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार नेपथ्यको कन्सर्ट भब्य रुपमा सम्पन्न भयो। अष्ट्रेलियाको तेश्रो ठूलो सहरमा नेपथ्यको यो चौथो प्रस्तुति हो।
एक दशक अघिसम्म पनि मुस्किलले करिब हजार नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनोट गर्नेहरु विस्तारै बढ्दै गएका छन्। सहरकै नयाँ साजसज्जासहित खुलेको ‘फोर्टिच्यूड म्यूजिक हल’को क्षमता भरिनेगरी दुई हजारभन्दा बढी दर्शक कार्यक्रममा अटाएका थिए।
‘ब्रिसबेनमा नेपाली कलाकारको यो आजसम्मकै ठूलो मात्र होइन सबैभन्दा व्यवस्थित प्रस्तुति पनि बन्नपुगेको छ,’ आयोजक संस्था ‘माउन्ट ८८४८ इभेन्ट्स’ का टोली सदस्य सुनिल बस्नेत भन्छन्, ‘यो सहरमा जति संख्यामा नेपाली बसोबास छ त्यसका हिसाबले यतिको दर्शक जुट्नु ठूलो सफलता हो।’
‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरूले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शनहरू पनि बोकेका हुन्छन्।’

कन्सर्ट अवधिमा उनले विदेशमा सबै नेपालीहरू मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे।
कार्यक्रममा ‘यो जिन्दगानी’, ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीतहरु बज्दा सधैंजस्तै श्रोता दर्शक चरम आनन्दमा पुगेका थिए। त्यसैगरी नयाँ एल्बमबाट नेपथ्यले ‘नैना ताल’ सुनाउँदा यहाँका श्रोतादर्शक असाध्यै रमाएका देखिन्थे। विश्वयुद्ध लड्न भारतीय गोर्खा फौजमा गएका लाहुरेहरुले उतिबेला बनाएको यो गीतलाई गायक अमृतले आफ्ना पूर्वजहरूबाट सुनेको अनुभवबाटै निखारेर प्रस्तुत गरेका हुन्।
कार्यक्रमको अन्त्य भने ‘रातो र चन्द्रसूर्जे’बाट गरिएको थियो।
नेपथ्यको अष्ट्रेलिया श्रृंखलालाई सिड्नीस्थित ‘नेपाली टच’ले संयोजन गरिरहेको छ भने ब्रिसबेनको कार्यक्रम ‘माउन्ट ८८४८ इभेन्ट्स’ले आयोजना गरेको थियो।
अष्ट्रेलियाको ६ वटा राज्यमा सांगीतिक यात्रा गर्ने नेपथ्यले यसपालि तासमानियाको राजधानी होबार्टमा समेत पहिलोपटक उभ्याउँदैछ।
यो यात्राको अन्त्य भने डिसेम्बरको २३ तारिख मेलबर्नको क्राउनस्तिथ‘पाल्म्स’मा पुगेर हुनेछ।
ब्याण्ड र व्यवस्थापनको १२ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।