काठमाडौं- पुनर्गठित मन्त्रिमण्डलमा सहभागी ९ मन्त्रीहरूको सपथ भोलि (बिहीबार) हुने भएको छ।
नयाँ मन्त्रीहरुलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएकाे छ।
लामो कसरतपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
नयाँ मन्त्रिमण्डलमा ९ जना भित्रिएका छन् भने अघिल्लो मन्त्रिमण्डलबाट ९ जना नै बाहिरिएका छन्।
को को गए?
भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मन्त्रिपरिषदबाट बाहिरिएका छन्।
यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव, कृषिराज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्यमन्त्री सुरेन्द्र यादव सरकारबाट बाहिरिएका छन्।
को को आए?
नयाँ मन्त्रीपरिषद्मा हृदयेश त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन्।
वसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात, पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्रीले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीसहितको मन्त्रिमण्डल गठन भएको जानकारी समेत गराएकी छन्।
'नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ,' राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
लामो छलफल र विचारविमर्शपछि प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन्। ्
मन्त्रिपरिषद् पुनर्गठनकै लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक पटक पटक बसेको थियो।
उनले अर्का अध्यक्ष प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सँग पनि पटक पटक छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।