बिराटनगर- नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक नेपालको भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन्।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै‚ ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकोमा नेपाली काँग्रसको पनि समर्थन छ‚’ उनले भने‚ ‘नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख छ। नेपाली काँग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको छ।’
उनले मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक) नेपाली काँग्रेसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए।
काँग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताँउदै उनले रौतहटका नेपाली काँग्रेस नेता अफताव आलमको विषयमा मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने धारणा राखे।
उनले मुलुकको विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसको समर्थन बढिरहेको बताए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।