सुर्खेत- होली पर्वको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका ज्येष्ठ नागरिकसँग खुसी साटासाट गरेका छन्।
मुख्यमन्त्री शाहीले सुर्खेत वीरेन्द्रनगर नगरपालिकास्थित प्रशान्ति वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसँग होली खोलेर खुसी साटेका हुन्। सो क्रममा मुख्यमन्त्री शाहीले त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई कम्बल, फलफूल र नगद वितरण गरे।
'आमाबुबालाई राखिएको पवित्र संस्थामा आएर भेट्न पाउँदा खुसी लागेको छ। तपाईंहरुको अधिकार तथा भौतिक सुरक्षाका लागि विशेष जोड दिनेछु', शाहीले भने।
मुख्यमन्त्री शाहीले ७० वर्ष माथिका पाँच आमा र पाँच बुबालाई प्रतिव्यक्ति एक हजार नगद र एक/एक वटा कम्बल वितरण गरेका प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री शाही आश्रमद्वारा स्थापित अक्षयकोषमा पाँच हजार पाँच रुपैयाँ तिरेर आजीवन सदस्य बनेका छन्।
२०५४ सालमा स्थापना भएको आश्रममा दैलेख, सिन्धुपाल्चोक, कालीकोट, हुम्ला, जुम्ला, सुर्खेत र अछामका गरी १० जना ज्येष्ठ नागरिक छन्।
पाँच कट्ठामा जमिनमा आफ्नै आठ कोठे भवन र ३ सय जना अट्ने क्षमताको भवन विकासका लागि प्रदेश सरकारमा मागपत्र पेश गरिएको जनाइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।