काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बोलाए।
सदाझैं ठुला राजनीतिक निर्णय गर्ने र सार्वजनिक गर्ने भन्दा पनि मन्त्रिपरिषद् आन्तरिक विषयका कुराबाट प्रधानमन्त्री ओलीले बैठकको सुरुवात गरे।
कसले मन्त्रीकै हैसियत कायम राख्ने र कसले मन्त्रीका रुपमा पाएको सरकारी सुविधा गुमाउने भन्नेमा छलफल केन्द्रित रह्यो।
ओलीले को-को मन्त्री हट्दैछन् र थपिदैछन् भन्नेबारे भने कुनै जानकारी गराएनन्।
'प्रधानमन्त्रीले बुधबार नै नयाँ मन्त्रीले सपथ खाने जानकारी दिनुभयो', बैठकमा सहभागी एक मन्त्रीले नेपाल लाइभसँग भने, 'अहिलेसम्मको कार्यकालका लागि धन्यवाद दिनुभयो।'
प्रधानमन्त्रीले हट्ने मन्त्रीहरू र नयाँ आउने मन्त्रीका बारेमा भने केही नखुलाएको ती मन्त्रीले दाबी छ।
उनका अनुसार, नयाँ साथीहरूलाई पनि अवसर दिन आफूले यस्तो निर्णय लिएकाले पदमुक्त हुने साथीहरूले चित्त नदुखाउन आग्रह गरेका थिए।
उनले पार्टीका काममा भूमिका खेल्न पदमुक्त हुने मन्त्रीहरूलाई आग्रह थिए।
प्रधानमन्त्रीले मन्त्रीहरूलाई भोलि औपचारिक कार्यक्रम नराख्न पनि सुझाएका थिए।
मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्तारूढ दल नेकपाले प्रधानमन्त्रीलाई आइतबार नै सैद्धान्तिक सहमति दिएको थियो।
मन्त्रिपरिषद हेरफेरकै विषयमा केन्द्रित रहेर छलफल गर्न बुधबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाइएको छ।
ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन्।
केही दिनयता मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाका नेताहरूको दौडधुप बढेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।