काठमाडौं– प्रायःजसो गीत लेखन, गायक र संगीत सिर्जनामा व्यस्त भइरहने लोकदोहोरी कलाकारलाई यतिबेला चुनाव सरगर्मीले छोएको छ। देशभरका लोकदोहोरी कलाकारहरुको पेशागत संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशन नजिकिएपछि कलाकारहरु चुनावी दौडधुपमा व्यस्त भइरहेका छन्।
मंसिर ६, ७ र ८ गते पोखरामा हुन गइरहेको महाधिवेशनमा अध्यक्ष पदका लागि लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीविच कडा टक्कर हुने देखिएको छ। विष्णु लोक गायनमा चर्चित नाम हो भने रमेश पनि लोक गीत सिर्जनामा रुचाइएको नाम हो।
विष्णु यसअघि पनि दुइपटक अध्यक्षमा उठेर हारेका कलाकार हुन्। यता रमेश संस्थाका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुन्। दुइपटक अध्यक्षमा हारेका विष्णुले रमेशलाई भने महासचिवमा हराइसकेका छन्।
यसपल्ट अध्यक्ष पदमा प्रतिष्पर्धा हुँदा पनि त्यही पुरानै दृश्य दोहोरिने हो या यसपल्ट रमेशले महासचिवमा त्यतिबेला हार्दाको बदला पनि लिने हुन्, नतिजालाई यसकारण पनि लोकदोहोरी वृत्तमा चासोको रुपमा लिइएको छ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि लोकगायक पशुपति शर्मा र गायिका रिता थापाको नाम चर्चामा छ। त्यस्तै प्रथम उपाध्यक्षमा रामजी खाँड र पार्वती बिसी, द्धितिय उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल उठ्ने चर्चा छ।
महासचिव पदका लागि भने सुवास केसी र शिरिष देवकोटाबीच चुनावी भिडन्त हुने देखिएको छ। त्यस्तै दुइजना उपमहासचिवका लागि शंकर विसी, चोलेन्द्र पौडेल, शिव हमाल, बैकुन्ठ महत र खुमन अधिकारीको नाम चर्चामा छ।
कोषाध्यक्षका पदका लागि भने राजु ढकाल, तारापति सुवेदी र पुरुषोत्तम न्यौपानेले उम्मेद्धारी दिने चर्चा छ। सहकोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल र घनश्याम रिजालको नाम अगाडी सुनिएको छ।
सबैभन्दा धेरै कलाकारको उम्मेद्धारी सचिव पदमा हुने देखिएको छ। दुई प्रशासनिक, सात प्रादेशिक र एक महिला गरी १० जना सचिव पदका लागि २५ जना कलाकार उठ्ने चर्चा लोकदोहोरी बजारमा चलिरहेको छ। सचिवमा कुलेन्द्र विश्वकर्मा, विनोद बाजुराली, पुश्कल शर्मा, कृष्ण रेउले, जीवन दाहाल, प्रचन्ड जिसी, होम गैरे, नविन पौडेल लगायतको नाम चर्चामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।