चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ।
सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न कठिन भएपछि घरमा बार्दलीजस्तो बनाएर सडक चौडा बनाउने प्रविधि (क्यान्टी लिभर) राख्ने योजना प्रस्ताव गरिएको थियो।
मुग्लिनबाट-नारायणगढतर्फ ८०० मिटरदेखि एक किलोमिटर ३०० मिटरसम्मको ५०० मिटर लम्बाइको नौ ठाउँमा १२३ मिटर लम्बाइमा क्यान्टी लिभर राख्ने तयारी गरिएको थियो। ती ठाउँमा शुरुमा सडक ५ दशमलव ५ देखि ६ मिटरसम्म फराकिलो थियो। भित्तो काटेर हाल ७ दशमलव ५ मिटरसम्म फराकिलो भएको छ। सम्झौताअनुसार ती ठाउँमा सडक ९ मिटर फराकिलो बनाउनुपर्ने हुन्छ।
ठेकेदार कम्पनी सुप्रिम रौताहा जेभिले क्यान्टी लिभर राख्न अस्वभाविक रुपमा थप रकम माग गरेपछि सो तयारी असफल भएको हो। सो क्षेत्रमा सडक चौडा गर्न परामर्शदाता कम्पनीले तीन वटा विकल्प दिएको नारायणगढ मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनाल बताउँछन्।
पहिलो विकल्प क्यान्टी लिभर, दोस्रो विकल्प नियन्त्रित विस्फोट गराएर भित्तो काट्ने र तेस्रो विकल्प ८ मिटर सडक चौडा गर्ने रहेको थियो। ठेकेदार कम्पनीले तेस्रो विकल्प रोज्दै क्यान्टी लिभर राख्ने भए रु ६ करोड थप रकम माग गरेको आयोजनाले जनाएको छ।
सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठ क्यान्टी लिभर राख्ने भनिएका ठाउँको सडकमुनि खोक्रो भएकाले क्यान्टी लिभर राख्न काट्दा बाटो भाँसिएर चार मिटरमा कायम हुनसक्ने खतरा रहेको बताए।
आयोजनाका प्राविधिक भने सडकको सो भागको ठेक्का रकम मात्र रु एक अर्ब ३० करोड भएकाले ठेकेदारलाई काम नै नगरी उन्मुक्ति दिन नहुने बताउँछन्। एक इञ्जिनियरले भने, 'एउटा गाडी बिग्रँदा अरु दुई गाडी आवतजावत गर्नका लागि ९ मिटर चाहिन्छ। यो अडान लिने प्रमुख निवृत्त भएकाले विभागलाई प्रभावमा पारेर ठेकेदार कम्पनी उम्किन खोज्दै छ।'
सन् २०१५ को अप्रिलबाट दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको सो सडकको काम हालसम्म ७६ दशमलव ५ प्रतिशत मात्र सम्पन्न भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।