जनकपुर- एक जना भारतीय नागरिकको हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
गत कातिक २० गते साँझ भारतको विहार राज्य, जिल्ला मधुवनी थाना ललमनिया ग्राम, वेल्हा पञ्चायत ६ बस्ने ४० वर्षीय राजकुमार यादवको हत्या गरेको अभियोगमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका-१० धनगढी टोल बस्ने-३८ वर्षीय फुलगेन साह, वडा नं. ११ बस्ने १९ वर्षीय रामकुमार साह, मिर्चैया नगरपालिका-४ बस्ने २० वर्षीय जितेन साह, धनुषाको कमला नगरपालिका-६ सखुवामडान बस्ने २५ वर्षीय अजय कुमार महतो र २१ वर्षीय राजलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। उनीहरुलाई पत्रकार सम्मेलन गरी सिरहा प्रहरीले सोमबार सार्वजनिक गरेको हो।
यस्तो थियो घटना
कातिक २० गते सिरहाको सिरहा नगरपालिका-१२ सारस्वरस्थित कमला नदीको किनारमा भारतको विहार राज्य मधुवनीका ४० वर्षीय राजकुमार यादवको हत्या भयो। कमला नदी किनारमा धारिलो हतियार प्रहार गरेर बिभत्स हत्या भएको अवस्थामा उनको शव भोलिपल्ट फेला परेको थियो।
धामीझाक्रीको काम गर्ने मृतक राजकुमार झारफुक गर्न नेपाल आउँदैजाँदै गर्ने गरेका थिए। हाल हत्या आरोपमा पक्राउ परेका धनगढीगढीमाई नगरपालिका-१० बस्ने फुलगेनसँग चिनजान भई घनिष्ठ सम्बन्ध बनेको थियो।
पछि फुलगेनले छोरीको विवाहका लागि भन्दै राजकुमारलाई रकम सापटीसमेत दिएका थिए। फुलगेनकै माध्यमबाट हत्या आरोपमा पक्राउ परेका सबैसँग झाँक्री राजकुमारको चिनाजान भएको थियो। चिनजान भएका उनीहरुसँग भूत भगाउने भन्दै झारफुकको बहानामा झाँक्री राजकुमारले पैसा लिएका थिए।
बिरामी निको नभएपछि पैसा फिर्ता माग्दा र फुलगेनले छोरीको बिहेका लागि दिएको सापटी रकम फिर्ता माग्दा झाक्रीसँग विवाद भएको थियो। त्यसपछि उनीहरुले झाँक्री राजकुमारको हत्या गर्ने योजना बनाएका थिए।
कातिक २० गते साँझ सवा ६ बजेको समयमा राजकुमारलाई फुलगेनसहित ५ जना मिलेर घाँटी रेट्नुको साथै शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिरहा प्रहरीले जनाएको छ।
सिरहा प्रहरीका अनुसार घटनामा प्रयोग गरेको खुकुरी, कपडालगायतको समानसमेत बरामद भएको प्रहरीले जानकारी दिउको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।