खोटाङ- खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ। रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो।
रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ। नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिश गरेको थियो।
नगरसभा र गाउँसभाले सिफारिश गरेबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार राजपत्रमा प्रकाशित गरेर नाम परिवर्तन भएको जनाएको छ। मन्त्रालयले प्रकाशित गरेको राजपत्रअनुसार अब रुपाकोट मझुवागढी नगरपालिकाको नाम ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ र दिप्रुङ गाउँपालिकाको नाम ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका’ कायम भएको छ।
यसअघि लामिडाँडा गाउँपालिकाको पनि नाम परिवर्तन गरिएको थियो। तत्कालीन लामिडाँडा गाउँपालिकाको नाम परिवर्तन भएर रावाबँेसी गाउँपालिका भएको छ भने अन्यको यथावत राखिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।