काठमाडौं- नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव' विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र लेख्दै विप्लवलाई पक्राउ गर्न आग्रह गरेको छ। विप्लवको घर चन्द्रौटामा पर्छ।
प्रहरी निरीक्षक केशवराज ज्ञवालीले वडा प्रहरीलाई पत्र पठाउँदै फेला परेमा पक्राउ गर्न र नभेटिएमा म्याद तामेल गरी भोजपुर जिल्ला अदालतमा पठाउन आग्रह गरेको हो।
ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको मुद्दामा विप्लव विरुद्ध जिल्ला प्रहरी कार्यालय भोजपुरमा मुद्दा दर्ता भएको थियो। जिल्ला अदालतले सो मुद्दाको सुनुवाइ गर्दै विप्लव विरुद्ध वारेन्ट जारी गर्दै तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई अनुरोध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।