फिल्मको खास हिरो ‘कन्टेन्ट’ हो। त्यसैले फिल्मले वैचारिक बहस सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्नेहरुले ‘कन्टेन्ट’लाई फिल्मको खास राजा ठान्छन्।
अचेल बलिउडमा सामाजिक विषयवस्तु उठाएर व्यापक फिल्म निर्माण हुन थालेका छन्। यद्यपी ती फिल्महरुले पनि परम्परागत सिनेमाझै आइटम नम्बर र गीतहरु राख्न छाडेका छैनन्।
हालै बलिउडमा निकै चम्किरहेका प्रतिभाशाली अभिनेता नवाजुद्दिन सिद्दिकीले त्यस्ता सिनेमाहरुलाई ‘प्रोपागान्डा’ सिनेमाको संज्ञा दिएका छन्।
‘ती फिल्महरु प्रोपागन्डा फिल्म हुन् जहाँ तपाई एउटा गम्भिर विषयलाई राष्ट्रिय संकट सरह प्रस्तुत गर्नुहुन्छ,’ हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै उनले भनेका छन्, ‘मलाई लाग्दैन ती सिनेमा हुन्। म यसमा विश्वास गर्छु या गर्दिनँ त्यो दोश्रो कुरा भयो। मान्छेहरु त्यसलाई कन्टेन्ट (सिनेमा) भन्छन् तर तिनीहरुको रेसिपी हिट बलिउड कमर्सियल फिल्ममाजस्तै हुन्छ, जहाँ पाँच वटा गीत, नृत्य र आइटम नम्बर हुन्छ। अनि, तपाई त्यसलाई कसरी ‘कन्टेन्ट’बाट निर्देशित सिनेमा भन्न सक्नुहुन्छ?’
आफू स्वयम्ले पनि यस्ता फिल्म गरिरहेको उनले स्वीकारेका छन्। भनेका छन्, ‘चार–पाँचवटा गीत राखिएका जुन फिल्मलाई तपाईहरु गम्भिर विषय उठाइएको सिनेमा ठान्नुहुन्छ, हो त्यस्तो सिनेमा मैले स्वयम् पनि गरेको छु।'
नवाजुद्दिन ‘ग्याङ्स अफ वासेपुर’मा अभिनय गरेपछि एकाएक चम्किएका अभिनेता हुन्। उनले एकातिर ‘द लन्चबक्स’, ‘बदलापुर’, ‘रमन राघव २.०’, ‘हरामखोर’ लगायत प्रस्तुति–केन्द्रित फिल्म गरिरहँदा ‘किक’, ‘रइस’, ‘बजरंगी भाइजान’जस्ता कर्मसियल सिनेमा पनि गरेका छन्।
उनीे एक्टरलाई फिल्म क्षेत्रमा टिकिरहनका कमर्सियल सिनेमा पनि गर्नुपर्छ भन्ने विश्वास राख्छन्। ‘एउटा अभिनेताका लागि व्यवसायिक पहिचान पनि एकदमै महत्वपुर्ण हुन्छ,’ उनले भनेका छन्, ‘अनि मात्र उसका कारण फिल्म बन्छ, अनि चल्छ पनि। म आज धेरै कमर्सियल फिल्म गरिरहेको छु किनभने मेरो ‘मार्केट भ्यालु’ छ। वितरकहरुलाई एक्टरको मार्केट भ्यालुबारे राम्रोसँग जानकारी हुन्छ त्यसैले त उनीहरु भन्न सक्छन्, फिल्म किन हिट या फ्लप हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।