काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन्।
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ (क)का नेकपा उम्मेदवार डिपी ढकाललाई भोट माग्न आइतबार घरदैलो कार्यक्रममा सहभागी भएका नेता श्रेष्ठले सो कुरा बताएका हुन्।
देश समृद्ध बनाउन र भक्तपुरको विकास गर्न नेकपा उम्मेदवार डिपी ढकाललाई विजयी गराउनुपर्ने उनको भनाइ थियो।
शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको उनको दाबी छ। ‘राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि पनि नेकपालाई चुनावमा जिताउनै पर्छ,’ प्रवक्ता श्रेष्ठले भने।
नेकपा उम्मेद्वार ढकाललाई जिताउन मतदातासँग आग्रह गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानी लगायतका मिचिएको भू-भाग नेकपाले मात्र फिर्ता गराउन सक्छ।’
नेकपा सरकारले नै कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भनेर स्पष्ट पारेको उनले दाबी गरे।
घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति डिपी ढकाल नै भएको चर्चा गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पूरा गर्न ढकाल र आफू सँधै सँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।