काठमाडौं– डा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा नदिए वा उनी विरुद्ध महाअभियोग नलगाइने सत्याग्रहसहितका कडा कदम चाल्ने बताएका छन्। डा केसीले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश पराजुलीले आफ्नो एसएलसीको प्रमाणपत्र सम्बन्धी सूचना लुकाएर प्रमाणपत्र फर्जी रहेको आशंका पुष्टि भएको भन्दै राजीनामाको माग गरेका हुन्।
‘हामीले दिएको निवेदन उपर के–कस्तो कारबाही भयो भनी आज सचिवालयमा बुझ्न जाँदा हाम्रो माग बमोजिमको सूचना नदिने र दुषित कार्यहरु भएको सम्बन्धमा माग बमोजिमको आवश्यक उपचार उपलब्ध गराउने सम्बन्धमा मौन देखिएको अमूर्त व्यहोरासहित नियम ४० (२) विपरितको पत्र थमाउन खोजियो,’ प्रधानन्यायाधीशको एसएलसीको प्रमाणपत्रको सूचना माग गरिए पनि उपलब्ध नगराइएको भन्दै डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानन्यायाधीश गोपाल पराजुलीले हाम्रो माग बमोजिमको सूचना लुकाउनुले हामीले माग गरेको उहाँको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र फर्जी भएको हाम्रो आशंका पुष्टि हुने आधार थपिएको छ। यस सम्बन्धमा हामीले उपयुक्त समयमा थप कदम चाल्ने नै छौं।’
डा केसीले मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुली स्वयंमलाई सम्बोधन गरी प्रधानन्यायाधीशको निजी सचिवालयमा हालसम्म नदेखाएको प्रवेशिका तहको शैक्षिक÷चारित्रिक÷स्थानान्तरण प्रमाणपत्रको सूचना लगायत अन्य सूचनाहरु माग गर्दै निवेदन दिएका थिए।
डा केसीको विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानन्यायाधीश गोपाल पराजुलीले पदको दुरुपयोग गरी गरेको भ्रष्टाचार, माफियागिरी, प्रतिशोध, प्रेस स्वतन्त्रताको अपहरण लगायतका अनुचित र आपराधिक कार्यहरुमा निजलाई जवाफदेही बनाई पदमुक्त गराई छाड्ने हाम्रो संकल्प पूरा गर्ने प्रतिबद्धता गर्दछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।