काठमाडौं- आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन्।
विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपाल जन्मेका हुन् भनेर वाचन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी दिए।
बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वसामु चिनाउन एकै पटक यति धेरै मानिसको सहभागिता गराएर वाचन गर्न लागिएको उनले बताए।
‘भगवान् बुद्धको जन्मस्थल र बुद्धिजमको उद्गमस्थल नेपालको लुम्बिनी हो’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा बुद्धको जन्म नेपाल हो भन्नेसहित बुद्धको उपदेश, प्रवचन, धम्मपदको सारगर्भित अंशसमेत वाचन गरिनेछ।
बिहान ११ बजेबाट २ बजेम्म सर्वसाधारण टुँडिखेल प्रवेश गरिसक्ने र त्यसपछि मात्र वाचन गरिनेछ। करिब १० मिनेट सबैले वाचन गरी गिनिज बुकका कीर्तिमान कायम गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए।
उनले अरुले बुद्ध नेपालमा नजन्मेको भ्रम फैलाइरहेको भन्दै सो भ्रम हटाउन पनि कार्यक्रम सान्दर्भिक हुने बताए।
पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष संघर्ष विष्टले कार्यक्रममा अहिलेसम्म ७५ हजार पास वितरण गरिसकेको जानकारी गराए। पास देखाइसकेपछि मात्र कार्यक्रममा प्रवेशको व्यवस्था मिलाइएको छ।
उक्त दिन पनि करिब १५ हजार पास टुँडिखेलको मूलगेटमा वितरण गर्ने योजना छ। चार वटा गेट र ४० वटा सहायक गेटबाट प्रवेशको व्यवस्था मिलाइएको छ। कार्यक्रममा तीन हजार स्वयंसेवक र एक हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।
सोही कार्यक्रममा राष्ट्रिय कलाकारले सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गर्नेछन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।