काठमाडौं– फिल्म ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसीले अभिनय गर्ने पक्का भएको छ। यो फिल्मलाई पनि ‘ए मेरो हजुर ३’ निर्देशन गरेकी अभिनेत्री झरना थापाले निर्देशन गर्दैछिन्।
‘ए मेरो हजुर ३’मा झरनाले छोरी सुहाना थापालाई यही फिल्मबाट ब्रेक दिएकी थिइन्। त्यतिबेला अनमोल–सुहाना जोडी बनेर पर्दामा छाएका थिए। फिल्म व्यापारिक रुपमा सफल भएपछि अब यसको चौथो श्रृंखला बन्न लागेको हो।
आज (शनिबारं) अनमोलले औपचारिक रुपमा फिल्म खेल्ने सम्झौता गरेपछि चौथो श्रृंखलामा पनि अनमोल–सुहानाकै जोडी दोहोरिने पक्का भएको छ। अनमोलले कति पारिश्रमिक लिएर फिल्म सम्झौता गरे, त्योचाँही सार्वजनिक भएको छैन।
यो फिल्मलाई झरनाका श्रीमान् सुनिलकुमार थापाले निर्माण गर्नेछन्। फिल्म माघ २० गतेदेखि छायाँकनमा जानेछ। नेपाल, ओमान र होल्याण्डमा छायाँकन हुने तयारीमा रहेको फिल्मको अन्य कलाकार फाइनल हुने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।