काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको वैधानिकता शनिबारबाट सकिएको छ। तीन वर्षे कार्यकालमा संस्थाले पूर्णतासमेत पाउन सकेन भए ३ वर्ष अवधिभर एकपटक पनि केन्द्रीय कार्यसमितिको बैठक नबसी वैधानिकता नै सकिएको हो।
विधानमा ९५ सदस्यीय कार्यसमिति हुने व्यवस्था भए तरुण दल चार जनामा मात्र सिमित गरिएको थियो। पार्टी भित्रका गुटहरुको क्रियाशिलताले तरुण दलले अघि सारेका कार्यक्रम पनि यसबीचमा कार्यान्वयन गर्न सकेन।
तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले मूल पार्टी नेतृत्व र संगठनको अध्यक्षले तरुण दललाई भूमिकाविहीन बनाएको आरोप लगाए। अध्यक्ष र महासचिवबीच विवाद उत्पन्न भए पछि महासचिव शाहीले अघि सारेका कार्यक्रम पनि स्थगित भएका थिए।
उद्यमशील र सिर्जनशील युवा, भ्रष्टचारविरोधी देशव्यापी अभियान, एक घर एक तरुण सदस्यजस्ता कार्यक्रम अध्यक्षले सहयोग नगरेका कारण कार्यान्वयन हुन नसकेको शाहीको आरोप छ। तीन वर्षे कार्यकालमा जिल्ला अध्यक्षहरुको तीन दिने भेला, सात प्रदेशमा प्रशिक्षण र सरकारका विरुद्धमा सात प्रदेशमा विरोधका साना कार्यक्रमबाहेक उल्लेखनीय कार्य तरुण दलले गर्न सकेन।
भक्तपुर, सप्तरी र सिन्धुपाल्चोकमा आफूपक्षीय नेतृत्व राख्ने क्रममा बस्नेत र शाहीबीच विवाद यथावत छ। २०७३ कार्तिक २७ देखि २९ सम्म भएको चौथो महाधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको थियो। पार्टीभित्रका गुट हाबी हुँदा निर्धारित महाधिवेसन कार्यतालिका प्रभावित भई मंसिरसम्म लम्बिएको थियो।
महाधिवेसनबाट पार्टी भित्रका तीन गुटका पदाधिकारी हुने गरि भागबन्डा गरिएको थियो। अध्यक्षमा जीतजंग बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्धान गुरुङ नेतृत्वमा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।