काठमाडौं– कांग्रेस उपसभापति विजयकुमार गच्छदार मलिन अनुहारसहित शुक्रबार साँझ ५ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गरेका थिए। गच्छेदारले प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा त्यहाँ झण्डै तीन घण्टा बयान दिए।
‘फर्कँदा पनि उहाँको अनुहार उस्तै मलिन थियो’ अख्तियार स्रोतले भन्यो, ‘ललिता निवास जग्गा प्रकरणमा अरु धेरैसँग बयान भइरहेको छ। सोही सिलसिलामा गच्छदारको पनि बयान लिइएको हो।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्रीका हैसियतमा गच्छदारले गरेका केही नीतिगत निर्णयलाई लिएर उनीसँग प्रश्नहरू राखेका थिए।
स्रोतका अनुसार कांग्रेस उपसभापति गच्छेदारले अख्तियारमा तयार भएका झण्डै तीन दर्जन प्रश्नको सामना गरेका थिए। हरेक प्रश्नको जवाफमा उनले आफ्ना निर्णयहरूको बचाऊ मात्र गरेनन्, बयानको नियत र प्रक्रियामाथि पनि प्रश्न उठाए।
‘ललिता निवासको जग्गाबारे व्यक्तिगत रुपमा मलाई केही पनि थाहा छैन। त्यसबेला मन्त्रिपरिषद्ले गरेका सबै निर्णयहरू प्रशासनिक तहबाट माथि ल्याएर गरिएका नीतिगत निर्णय भएकाले यसमा मलाई सोधिरहनु उचित छैन’, बयानका क्रममा गच्छदारका भनाइहररू उधृत गर्दै स्रोतले नेपाल लाइभलाई बतायो, ‘तपाईंहरू स्वतन्त्र रुपमा अनुसन्धान गर्न सक्नुहुन्छ तर व्यक्तिगत रुपमा कसैलाई ह्यारेस गर्न पाउनुहुँदैन।’
कांग्रेस उपसभापति गच्छेदारले आफू लामो समयदेखि राजीनीतिमा लागेको र राजनीतिमा कहिलेकाँही षडयन्त्रको शिकार भइने जोखिम पनि रहेको भन्दै वर्तमान अवस्थामा अख्तियारले निरपेक्ष ढंगमा अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। बयानका क्रममा उनले भने, ‘तपाईं अरु सरकारका निर्णयहरू पनि हेर्नुहोस्, त्यसलाई विश्लेषण गर्नुहोस्।’
ललिता जग्गा प्रकरणमा जोडिएका कतिपय उच्च तहका नेताहरू अख्तियार पुगेर बयान दिन अस्विकार गरिरहेका बेला गच्छेदारको बयानलाई भने अर्थपूर्ण रुपमा लिइएको छ। यसअघि अख्तियारले यही प्रकरणमा झण्डै १ सय ५० जनालाई बयानका लागि पत्राचार गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।