गोरखा– न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले गोरखाका सञ्चारमाध्यमहरुमा श्रमजीवि पत्रकार ऐन कार्यान्यवनको अवस्था सन्तोषजनक रहेको बताएका छन्।
गोरखा सरदमुकाममा आयोजित जिल्लाका सञ्चारमाध्यममा श्रमजीवि पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्। पराजुलीले अन्य जिल्लामा सञ्चारमाध्यममा काम गर्ने श्रमजीवि पत्रकारहरुलाई नियुक्तपत्र पाउन समस्या हुने गरेको, न्युनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको पारिश्रमिक उपलब्ध नपाइएको भए पनि गोरखामा भने यसको अवस्था सन्तोषजनक नै पाइएको बताए।
अहिले सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुको क्षमता र व्यावसायिक पत्रकारितामा ध्यान दिन सके पारिश्रमिकको समस्या कम हुँदै जाने उनको भनाइ छ। देशभरका अधिकांश सञ्चारमाध्ययमा सञ्चालकहरुले आफ्ना श्रमजीवि पत्रकारको शोषण गर्ने गरेको भन्दै अब ऐनलाई प्रभावकारी कार्यान्यवनका लागि पहल गर्ने उनले बताए।
कार्यक्रममा सहभागी रेडियो तथा पत्रपत्रिकाका सञ्चालक एवं प्रकाशकहरुले राज्यले ठूला सञ्चारमाध्यम र सानाबीच विभेद गरेका कारण अहिले पनि श्रमजीवि पत्रकार ऐन कार्यान्यवनमा समस्या हुने गरेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।