दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)का विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन्। जेएनयूको नयाँ नियमअनुसार छात्रबासमा एकजना बस्ने कोठाको मासिक शुल्क २० रुपैंयाबाट बढाएर ६ सय रुपैंया र दुई जना बस्ने कोठाको शुल्क १० रुपैंयाबाट बढाएर ३ सय रुपैंया पुर्याइएको थियो।
विद्यार्थीको प्रदर्शनपछि यसलाई क्रमशः ३ सय र १ सय ५० रुपैंया पुर्याइएको छ। सरकारले यसलाई भारी कटौती भन्दै आएको छ।
शुल्क बढाएकोमा हजारौंको संख्यामा रहेका आक्रोशित विद्यार्थीले सोमबार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शन गरेका थिए। पहिला तिर्न नपर्ने सर्भिस चार्जमा अब विद्यार्थीहरूले कुल खर्चको आधा शुल्क बुझाउनुपर्ने हुन्छ।
प्रशासनको आंशिक कटौतीबाट विद्यार्थी भने सन्तुष्ट छैनन्। शुल्क मनोमानी ढंगले फेरि बढ्न सक्ने उनीहरूको आशंका छ। प्रशासनका अनुसार कोठा भाडा तीन दशकयता र बाँकी खर्च एक दशकयता बढेकै थिएन। त्यसैले यो शुल्क वृद्धि जरुरी थियो।
यदि यो शुल्क वृद्धि कार्यान्वयन भयो भने आफूहरूले पढाइ नै छाड्नपर्ने स्थिति सिर्जना हुने विद्यार्थीहरू बताउँछन्।
जेएनयूको विवाद पुरानै
प्रदर्शनको अघिल्लो दिन गुरुनानक जयन्तीमा दिउँसो म कावेरी होस्टेल पुगेँ। केही विद्यार्थीहरूले प्रदर्शनको कारण थकाइको महशुस गरेता पनि उनीहरूमा रोष भने कम थिएन।
ज्योतिकुमारी : नर्मदा होस्टेलको बाहिर मेरो भेट २१ वर्षकी ज्योतिकुमारीसँग भयो। चिच्याएका कारण अरू विद्यार्थीझैं उनको पनि घाँटी सुकेको थियो। ज्योतिको बुबा किसान हुन्। उनी सासारामको एउटा गाउँमा खेती गर्दै आएका छन्। परिवारको वार्षिक आय ७० हजार देखि ९० हजारसम्म रहेको छ। उनी जेएनयूमा रूसी भाषामा मास्टर्स गरिरहेकी छन्।
सिभिल सर्भिसेजमा जाने सपना देख्ने ज्योति भन्छिन्‚ ‘प्रदर्शनको दिन प्रहरीले महिलालाई गरेको व्यवहार देखेर मेरो भक्कानो फुट्न लागेको थियो। भिसी हाम्रो कुरा सुनिरहेका थिएनन्।’
उनले शुल्क वृद्धिका कारण आफूले पढाइ समेत छोड्नुपर्ने स्थिति आउने बताइन्।
उनी भन्छिन्‚ ‘मैले सन् २०१७ देखि आजसम्म घरबाट पैसा लिएको छैन। यदि यो शुल्क वृद्धि कार्यान्वयन भयो भने आर्थिक अभावका कारण म पढाइ जारी राख्न सक्दिनँ।’
ज्योतिलाई हरेक महिना मेरिट कम मिन्स स्कलरसिपको २ हजार रुपैंया मिल्दै आएको छ। विश्वविद्यालयको तर्फबाट यो छात्रवृत्ति वार्षिक पारिवारिक आय २ लाख ५० हजार रुपैयाँभन्दा कम भएका विद्यार्थीलाई दिइँदै आएको छ। उनी महिनाको बाँकी खर्च ट्युसन पढाएर जुटाउँछिन्।
उनी भन्छिन्‚ ‘म रुसी र अङ्ग्रेजी भाषाको केही कक्षा लिन्छु। जब ट्युसन पढाउन मिल्दैन तब धेरै समस्या हुनेछ। तपाईंलाई किसानको हालत कस्तो छ भनेर त थाहै छ। मेरो परिवारको मासिक आय ६ देखि ७ हजारको बीचमा छ।’
इन्दु : ज्योतिसँगै बस्ने बोकारोकी इन्दुका अनुसार उनी जागिर होइन अनुसन्धान गर्न चाहन्छिन्। उनका बुबा होटेल चलाउँछन्। तर पनि स्थिति नाजुक छ।
इन्दु पार्ट टाइम सम्पादन तथा शिक्षकमा आवद्ध भएर आफ्नो खर्च पूरा गर्छिन्। भन्छिन्‚ ‘म माथि एमफिलको पढाइ छोडेर जागिर गर्नुपर्ने दबाव छ। मैले खर्च जुटाउन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको जागिर गर्नुपर्ने भएकाले पढाइमा बाधा आइपर्छ।’
तथ्याङ्कका अनुसार जेएनयूमा करिब ८ हजार विद्यार्थी पढ्छन्। जसमध्ये करिब ५ हजार विद्यार्थी होस्टेलमा बस्दै आएका छन्।
किन गर्दैछन् जेएनयूका विद्यार्थी विरोध प्रदर्शन?
शुल्क वृद्धिको विरोधको दौरानमा जेएनयूमा गरिएको ‘ड्राफ्ट सर्भे’ सबै विद्यार्थीहरू एक आपसमा बाँडिरहेका छन्। सोही ड्राफ्ट सर्भे मसँग पनि आयो। उक्त सर्भेको नाम ‘इनिसियल रिपोर्ट अफ द जेएनयू स्टुडेन्ट सर्भ’ राखिएको छ।
उक्त सर्भे सहारनपुरमा बस्दै आएका जेएनयूमा सेन्टर फर द स्टडि अफ रिलिजन डेभलपमेन्टमा एमफिल स्कोलर अली जावेदले गरेका हुन्।
अली जावेदले यसभन्दा पहिला एमिटि र जामियामा पढिसकेका छन्। सर्भेको नमुना साइजमा ४ सय ६३ विद्यार्थी छन्‚ जसमध्ये होस्टेलमा बस्ने विद्यार्थीको स्याम्पल साइज ९ प्रतिशत छ। उक्त सर्भेका अनुसार होस्टेलमा बसेर पढ्नेमध्ये ४०-४६ प्रतिशत विद्यार्थीको परिवारको वार्षिक आय १.४४ लाख रूपैयाँभन्दा कम रहेको छ।
गोपाल : पढाइ जारी राख्ने विषयलाई लिएर चिन्ता
कावेरी होस्टेलको बाहिर मेरो भेट कालो चस्मा लगाएका गोपालसँग भयो। उनी राम्रोसँग देख्न सक्दैनन्‚ सिँढी पनि बिस्तारै चढ्छन्। आफ्नो कोठातर्फ जाँदै गर्दा म उनको पछि- पछि थिएँ। उनको कोठाको बिस्तरामा साथी किशोर कुमार बसिरहेका थिए। दोस्रो बिस्तारामा रहेको तन्नाको स्थिति अस्तव्यस्त थियो।
सेन्टर फर पोलिटिकल स्टडिजबाट मास्टर्स गरिरहेका किशोरले भने‚ ‘जेएनयू आउनुको कारण शिक्षाको स्तर राम्रो भएकाले नै हो। साथै सबैभन्दा सस्तो विश्वविद्यालय र क्याम्पस ब्यारिअर फ्रि भएकाले पनि मानिसहरू जेएनयू आउँछन्।’
जेएनयूको छाप उनको मार्कसिटमा देख्ने उनको सपना थियो। तर उनका अनुसार शुल्क वृद्धिले गर्दा यी सबै सपना सपना नै हुने हुन् कि भन्ने डर छ।
अल्बर्टः हजुरबाको पेन्सनले मात्रै चलेको छ घर
नर्मदा होस्टेलमा नै भेटिए अल्बर्ट‚ जो वैज्ञानिक बन्न चाहन्छन्। प्रदर्शनको दिन उनलाई चोट लाग्यो र उनलाई एम्स अस्पतालमा भर्ना गरियो।
उनको घरको सारा खर्च हजुरबुबाको पेन्सनबाट चल्ने गरेको छ। उनी स्कुल अफ कम्प्युटेसनल एन्ड इन्टेग्रेटिभ साइन्सेजबाट ‘कम्प्लेक्स सिस्टम’ अर्थात् जटिल प्रणाली विषयमा पिएचडी गरिरहेका छन्।
उनी भन्छन्‚ ‘जेएनयूमा २ सय ८३ मा पढाइने गरेको डेटा कोर्स बाहिर ५-६ लाखमा पढ्नुपर्ने हुन्छ। निजी इन्स्टिच्युटमा उक्त कोर्सको शुल्क २०-२५ लाखसम्म पर्न आउँछ। यदि शुल्क बढ्छ भने यो सेमेस्टरपछि म पढाइ छाडिदिन्छु। अहिले विश्वविद्यालयको शुल्क वृद्धिले गर्दा मलाई जागिर खानैपर्ने ठूलो दबाब आएको छ।’
यो सामग्री बिबिसी हिन्दीबाट प्रदीप खद्योतले भावानुवाद गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।