भैरहवा– नेपालको मेचीदेखि महाकालीसम्म महिला तथा बालबालिकामाथि हुने हिंसा, असुरक्षित आप्रवासन तथा बेचबिखनविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ हिँडेको माइती नेपालको मेची–महाकाली जनचेतना अभियान भैरहवा आइपुगेको छ।
फागुन १० देखि झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान १६ गते हेटौंडामा समापन गरिने आयोजकले बताए। स्थापनाको २५ वर्ष सम्ममा ३६ हजार ४५ जना जोखिममा परेका महिला तथा बालबालिकालाई उद्दार तथा सीमाबाट रोकिएको एवं १८ हजार ५५ जनालाई विभिन्न कानुनी सहयोग प्रदान गरिएको माइती नेपालकी सजनी जोशीले बताइन्।
भैरहवा पनि बालबालिका तथा महिला बेचबिखनका लागि प्रयोग हुँदै आइरहेको नाकामध्ये एक रहेका कारण यहाँका स्थानीय संघ–संस्था रस्थानीय बासिन्दा जागरुक हुनुपर्ने कार्यक्रममा सहभागी वक्ताहरुले बताए।
भैरहवाको बुद्धचोकबाट विभिन्न संघ–संस्थाहरुको सहभागितामा निस्किएको र्याली बसपार्कमा पुगी कोणसभामा परिणत भएको थियो। कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ लगायतले भैरहवामा महिला तथा बालबालिका हिंसा एवं बेचबिखन नियन्त्रणमा सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।