महोत्तरी- पिपरा गाउँपालिका अध्यक्ष पदका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीको मृत्यु भएपछि गाउँपालिकामा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी फोरम सहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको हो।
निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अन्तर्गत कार्तिक २७ गते १७ जनाको मनोनयनपत्र दर्ता भएको हो।
गाउँपालिकाको अध्यक्षको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बाट विक्रम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरी निकटतम प्रतिद्वन्द्वी थिए।
यस्तै नेपाली कांग्रेसबाट विजय यादवले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)बाट तत्कालीन गाउँपालिका अध्यक्ष विनोद चौधरीकी श्रीमती रविता चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन्। चुनाव जितेलगतै बिरामी परेका अध्यक्ष चौधरीको गत वैशाखमा काठमाडौँमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो। उम्मेदवारी दिँदै रविता कुमारीले आफू श्रीमानको सपना पूरा गर्न आएको प्रतिक्रिया दिइन्।
समाजवादी पार्टीबाट अध्यक्ष पदका लागि रामजानकी यादवले उम्मेदवारी दिएका छन्। त्यसैगरी खुला राजनीतिमा आएको ८ महिनापछि डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट अञ्जु यादवले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गरेपछि अञ्जुले सबै पार्टी टेस्टेड भइ सकेकाले जनताले आफूलाई विश्वास गर्ने जिकिर गरिन्।
‘सबै पार्टीहरू टेस्टेड भइसकेका छन्, हामी पहिलोपटक चुनाव लड्दैछौं, डा. साब (डा. सीके राउत) को मधेशमा क्रेज छ, संगठन पनि बनाइरहेका छौं,’ उनले भनिन्। निर्वाचन आयोगले जनमत पार्टीलाई लाउड स्पीकर चुनाव चिह्न दिएको छ।
त्यसैबीच राष्ट्रिय जनमुक्ति पार्टीबाट इशराजुल धुनिया, राप्रपा संयुक्तबाट सुनिल ठाकुर, नेपाल लोकतान्त्रीक पार्टीबाट राजकिशोर यादव, नेपाल जनता पार्टीबाट रमाकान्त झा, इतिहासिक प्रजातान्त्रिक जनता पार्टीबाट शुकराम यादव, राप्रपा नेपालको तर्फबाट श्यामशुन्दर चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै स्वतन्त्रबाट रामवृज यादव, पुनित अधिकारी, गणेश कुमार यादव, प्रविन चौधरी, प्रदिप कमार यादव र शैलदेवी मण्डल उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।