काठमाडौं- बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा माल्दिभ्सलाई हराएर नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ। नेपालले पहिलो स्वर्णपदक जित्दा माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो।
प्रतियोगितामा नेपालकी प्रतिभा मालीले बेस्ट स्पाइकरको अवार्ड पनि जितिन्।
झण्डै दुई वर्षपछि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली महिला भलिबल टोलीले कुनै पनि ठूला प्रतियोगितामा जितेको यो नै पहिलो स्वर्ण हो। यसअघि २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले रजत पदक भने जितेको थियो।
बंगलादेश ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा समूह चरणदेखि अपराजित नेपाली टिम उच्च मनोबल राखेर प्रस्तुत भयो। एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिता पहिलोपटक आयोजना हुँदा नै विजेता बन्न सक्नु नेपाली भलिबलका लागि ऐतिहासिक दिन भएको छ।
समूह चरणमा अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश सबैलाई हराएको नेपालले समूह चरणकै अन्तिम खेलमा पनि माल्दिभ्सलाई नै ३–० को सोझो सेटमा हराएको थियो। यसले पनि फाइनलमा नेपालको मनोबल उच्च रह्यो। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र माल्दिभ्स शीर्ष दुईमा पर्दै उपाधिका लागि भिडेका थिए।
नेपालले समूह चरणमा सबै टिमलाई सोझो सेटमा नै पराजित गरेको थियो। पहिलो खेलमा अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ ले हराएको नेपालले त्यसपछि कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२०, बंगलादेशलाई २५–७, २५–६ र २५–६ र माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१३ ले हराएको थियो।
यो प्रतियोगिताले नेपालमा नै मंसिर १५ देखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि राम्रो तयारी हुने बताइएको छ। नेपालले अहिलेसम्म साग खेलकुदको महिला भलिबलमा तीन पटक कास्य पदक मात्रै जित्न सकेको छ। अहिले अन्तर्राष्ट्रिय खेलहरुमा भइरहेको सहभागिताले नेपालले पहिलो पटक सागमा स्वर्ण जित्ने लक्ष्यका साथ बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।