काठमाडौं- एसियन क्रिकेट काउन्सिल (एसिसी) इमर्जिङ टिम्स कप अन्तर्गत पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ। १ सय ९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट जाँदा पूरा गरेको हो।
भारतका बीआर शरथले ४८ बलमा ४९ रन, आर्यन जुएलले ४३ बलमा २९ रन बनाए। यस्तै सनभिर सिंहले ६६ बलमा ५३ रन र अर्मान जाफरले ५८ बलमा ३९ रन बनाए। यश राथोडले ९ बलमा ६ रन बनाए।
नेपालका लागि ललित राजबंशी, करण केसी र सुसन भारीले एक–एक विकेट लिए।
त्यसअघि बंगलादेशको साभरमा टस जितेर भारतले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले अर्धशतक बनाएका थिए। पवनले अर्धशतक बनाए पनि अरु ब्याट्सम्यान चल्न नसक्दा नेपालले राम्रो रन जोड्न सकेन।
ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा नै बिनारन आउट भए। अर्का ओपनर कुशल भुर्तेलले ६० बलमा २८ रन बनाएका थिए।
यस्तै शरद भेषावकरले ७६ बलमा ४४ रन, आरिफ शेखले ५ बलमा २ रन, दिपेन्द्र सिंह ऐरीले ३१ बलमा २४ रन, बिनोद भण्डारीले १२ बलमा ५ रन बनाए। सोमपाल कामी दुई रनमा नै आउट भए। पवन सर्राफले ४९ बलमा ५६ रन बनाए। उनले ७ चौका र २ छक्का हाने। करण केसीले १६ बलमा २० रन बनाए। सुसन भारी ६ बलमा २ रन बनाउँदा आउट भए।
भारतका सौरभ दुबेले ४ विकेट लिए। यास राथोडले ३, पर्थ रेखाडेले २ र सिद्धार्थ देसाइले १ विकेट लिए
..........
युएईले नाम फिर्ता लिएपछि एसिसी इमर्जिङ टिम्स कपमा नेपालले खेल्ने मौका पाइरहेको हो। प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङ छन्।
नेपाल रहेको समूह ‘बी’ मा भारतसहित बंगलादेश र हङकङ रहेका छन्। समूह ‘ए’मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान छन्। दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।
नेपालले आउने शनिबार हङकङविरुद्ध र सोमबार बंगलादेशविरुद्ध खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।